
पाकिस्तानका पूर्वप्रधानमन्त्री शाहिद खाकान अब्बासी र वर्तमान रेलमन्त्री शेख रशीद अहमदलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पाकिस्तान मुस्लिम लीग नवाज (पीएमएल(एन) का प्रवक्ता मरयम औरन्गजेबले ६१ वर्षीय अब्बासीलाई कोरोना संक्रमण भएको पुष्टि गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ।
अब्बासी पीएमएल-एनका वरिष्ठ उपाध्यक्ष हुन्। र, पार्टी प्रमुख नवाज शरीफलाई अदालतले प्रधानमन्त्री पदबाट हटाएपछि उनी अगस्ट २०१७ देखि मे २०१८ सम्म पाकिस्तानका प्रधानमन्त्री बनेका थिए।
कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि उनी होम क्वारेन्टाइनमा छन्।
रेलमन्त्री शेख रशीद अहमदलाई पनि कोरोना पुष्टि भएको उनको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
रशीद चिकित्सकको सल्लाह अनुसार एकदेखि दुई सातासम्म होम क्वारेन्टाइनमा रहनेछन्।