
थप ३ सय १४ जनामा कोभिड- १९ संक्रमण, कुल संख्या ३ हजार ७ सय ३२ पुग्यो
नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या ३ हजार ७ सय ३२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ३ सय १४ जनामा संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
कुल संक्रमितमध्ये ४ सय ८८ जना निको भएर फर्किएका छन् ।
डाक्टर गौतमले झापाका ३ जना, सुनसरीका १ जना, सप्तरीका ६ जना, जनकपुरका १५ जना, स्याङ्जा र कास्कीका १/१ जना, पर्साका ८ जना, बाराका ७ जना, रौतहटका ४ जना, दाङका ४ जना, बाँकेका १, बर्दियाका १८, दैलेखका ११, सल्यानका ५, अर्घाखाँचीका ३१, गुल्मीका १, कपिलवस्तुका १७, नवलपरासीका २, पाल्पाका १, प्युठानका ८, रुपन्देहीका ५, कपिलवस्तुका ७, महोत्तरीका १२, रौतहटका ७ र सर्लाहीका १ सय ६ जनामा नयाँ संक्रमण पुष्टि भएको बताए ।
यससँगै कूल संक्रमितको संख्या ३ हजार ७ सय ३२ पुगेको छ ।
वायु सेवा निगम सुधारका लागि साझेदार खोज्ने विकल्पमा छलफल भइरहेको छ - मन्त्री भट्टराई
संस्कृति पर्यटन तथा नागरिक उड्यान उड्ययनमन्त्री योगेश भट्टराईले प्रत्येक वर्ष घाटामा गइरहेको नेपाल वायु सेवा निगमको दीर्घकालीन समाधानका लागि रणनीतिक साझेदार खोज्नेदेखि सार्वजनिक कम्पनीमा रुपान्तरण गर्नेसम्मका विकल्पमा छलफल भइरहेको बताएका छन् ।
विनियोजन विधेयकमाथि सांसदले उठाएका प्रश्नमा सोमवार प्रतिनिधि सभा बैठकमा जवाफ दिएपछि सोधिएको स्पष्टीकरणमा मन्त्री भट्टराईले नियमको व्यावसायिक र प्रतिस्पर्धी क्षमता बढाउनेदेखि आन्तरिक खर्च कटौती गर्ने नीतिसहित थप योजना बढाउँदै जाने बताएका हुन् ।
‘माननीयज्यूले वार्षिक १२/१५ अर्ब भन्नुभयो त्यति मात्र होइन, नेपाल वायु सेवा निगमले वार्षिक ४ अर्ब ऋण र ऋणको ब्याज तिर्नुपर्छ, यसको दीर्घकालीन समाधानका लागि रणनीतिक साझेदार खोज्नेदेखि लिएर सार्वजनिक कम्पनीमा रुपान्तरण गर्ने, खर्च कटौती गर्ने तथा व्यावसायिक र प्रतिष्पर्धी क्षमता बढाउने नीति लिएका छौ । आगामी दिनमा थप योजना अगाडि बढाउँदै जान्छौ,’ मन्त्री भट्टराईले भने ।
त्यसअघि स्पष्टिकरण सोध्दै नेमकिपाका प्रेम सुवालले प्रश्न गरेका थिए, ‘वायु सेवा निगम वर्षको १२/१५ करोड घाटामा कहिलेसम्म चल्छ ?’
मन्त्री भट्टराईले कोरोनाका कारण शिथिल बन्न पुगेको पर्यटन व्यवसायको पुन:स्थापनाका लागि सरकारले विशेष कार्यक्रम ल्याउने बताए । अहिले स्थापना गरिएको ५० अर्बको कोषबाट केही सुविधा लिन सकिने र २ प्रतिशत ब्याजमा २० लाख सम्मको ऋणको व्यवस्था हुने उनले बताए ।
प्रदीपलाई घनश्यामको जवाफ – 'चक्रव्युहबाट बाहिर निस्कन रोक्ने जयद्रथ ढोकामा छैन'
कृषि तथा पशुपंक्षीविकास मन्त्री घनश्याम भुसालले आफू चक्रव्युहमा फसेको भएपनि बाहिर निस्कनबाट रोक्ने जयद्रथ ढोकामा नभएको भन्दै नेपाली कांग्रेसका सांसद प्रदीप गिरीलाई जवाफ फर्काएका छन् ।
विनियोजन विधेयकअन्तर्गत कृषि मन्त्रालयमाथिको छलफलमा भाग लिँदै कांग्रेस सांसद गिरीले भुसाल अभिमन्यु जस्तो चक्रव्युहमा फसेको टिप्पणी गरेका थिए । सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा सोमवार मन्त्री भुसालले आफ्नो चिन्ता गरेकोमा दिलदेखि धन्यवाद दिन चाहेको बताए ।
भुसालले गिरीलाई जवाफ फर्काउँदै भने, ‘समाजवादी वाङमयका भाष्यकार प्रदीप गिरीले मलाइ चक्रव्यूहमा तन्त्रमा प्रवेश गरिस्, सुरक्षित फर्किन सक्छस्, अभिमन्यु भइस् भन्नुभएको थियो । यो चिन्ताका लागि म उहाँलाई दिलदेखि धन्यवाद व्यक्त गर्छु र आश्वस्त पार्न चाहन्छु । तन्त्र होला, यदि तन्त्र हो र म प्रवेश गरेको हुँ भनेपनि यो चक्रव्युहमा एउटा कमी छ । जयद्रथ छैन ढोकामा, जसले मेरो बाटो रोकोस् । चक्रव्युहबाट बाहिर निस्कन नदिने कुनै जयद्रथ मेरो ढोकाका छैन । अरु कुरा फेरि विचार गरौंला ।’
मन्त्री भुसालले अव दुरुपयोग हुनेगरी कृषि अनुदान नदिइने तथा मल जस्तै बिऊमा पनि अनुदान बढाइने बताए । उनले रोपाई शुरु हुनु अगावै धानको न्युनतम समर्थन मूल्य तोक्ने पनि उल्लेख गरे ।
कोरोना नियन्त्रणमा सरकार असफल भएकाे कांग्रेसकाे निष्कर्ष: कहाँ चुक्यो सरकार?, दियो १२ सुझाव
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार कोरोना भाइरस असफल भएको निस्कर्ष निकालेको छ।
सोमबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ‘सरकारको अकर्मण्यता, असक्षमता, असंवेदनशीलताको कारण कोरोना संक्रमणविरुद्धको लडाईमा अनपेक्षित क्षति बेहोर्न परेको’ निस्कर्ष निकालेको हो।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडलेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारको तथ्याङ्क अनुसार आजसम्म नेपालमा कोभिड १९ को कारण १४ जना नेपालीको मृत्यु भएको छ, देशभरि ३७६२ जना संक्रमित छन्। यो संख्या बढ्ने क्रममा छ । कोभिड १९ कै कारणले उत्पन्न परिस्थितिमा कैयन नागरिकहरुले अन्य रोग, भोक, मानसिक तनावले जीवन गुमाइसकेका छन् । हाम्रो सुझावलाई मनन गरेर समयमा उपयुक्त कदमहरु चालिएको भए यस्तो अवस्था कदाचित हुने थिएन।’
स्वास्थ्यमन्त्रीको दाबी- असार १५ देखि दैनिक १० हजारको पीसीआर परीक्षण
नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अब परीक्षणलाई तीव्रता दिने बताएका छन्।
सोमबार संघीय संसदमा सांसदहरुको प्रश्नकाे जवाफ दिँदै मन्त्री ढकालले असार १५ गतेदेखि दैनिक १० हजार जनाको कोरोना भाइरसको पीसीआर विधिबाट परीक्षण गरिने दाबी गरेका हुन्।
त्यसका लागि मेसिन खरिदको प्रक्रिया शुरु भएको उनले जनाए।
उनका अनुसार मेसिन खरिद गरेपछि विदेशबाट आउनेहरुको पीसीआर परीक्षण ठूलो मात्रामा गरिनेछ।