काठमाडौँ, १४ वैशाख - चालु आर्थिक वर्षको फागुन महिनासम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २ दशमलव ९ प्रतिशत कायम भएको छ ।

नेपाल राष्ट्र बैंकको ६२ औँ वार्षिकोत्सवका अवसरमा गभर्नर डा चिरञ्जीवी नेपालले गत आर्थिक वर्षको सोहि अवधिमा मुद्रास्फीति १० दशमलव २ प्रतिशत रहेको जानकारी दिए ।
उनले कृषि उत्पादनको वृद्धि, आपूर्तिमा सहजता र भारतीय मुद्रास्फीति आएको कमीका कारण पछिल्लो महिनामा मुद्रास्फीति निरन्तर घट्दै गएको बताए ।
गभर्नर नेपालका अनुसार यस अवधिमा वार्षिक बिन्दुगत आधारमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर शुन्य दशमलव चार प्रतिशत ऋणात्मक रहेको र गैरखाद्य तथा सेवा समूहमा ५ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा यी समूहको मूल्य वृद्धिदर क्रमशः १० दशमलव ३ प्रतिशत र १० दशमलव २ प्रतिशत रहेको थियो ।
उनले यस आवको चैत मसान्तसम्म नगद प्रवाहमा आधारित सरकारी बजेट रु ६३ अर्ब ५९ करोड बचत रहेको बताए । गभर्नरका अनुसार गत आवको सोही अवधिमा रु ४७ अर्ब ६९ करोड बचत रहेको थियो ।
यस अवधिमा कुल सरकरी खर्च ४६ दशमलव ६ प्रतिशतले वृद्धि भई रु चार खर्ब १९ अर्ब ९३ करोड पुगेको उनले उल्लेख गरे । त्यसैगरी गभर्नर डा नेपालले चालु आवको आठ महिनामा कुल वस्तु निर्यात १२ दशमलव ८ प्रतिशतले वृद्धि भई रु ४८ अर्ब २२ करोड पुगेको बताए । यस अवधिमा आयात भने ४४ दशमलव २ प्रतिशतले बढेर रु छ खर्ब २८ अर्ब ५६ करोड पुगेको छ ।
चालु आवको आठ महिनामा कुल वस्तु व्यापार घाटा ४७ दशमलव ६ प्रतिशतले वृद्धि भई रु पाँच खर्ब ८० अर्ब ३४ करोड पुगेको छ । त्यसैगरी यस अवधिमा चालु खाता रु छ अर्ब ३१ करोड घाटा छ । कुल विदेशी विनिमय सञ्चिति २०७३ को असार मसान्तको रु १० खर्ब ३९ अर्ब २१ करोडबाट ३ दशमलव ४ प्रतिशतले वृद्धि भई फागुन मसान्तसम्ममा रु १० खर्ब ७४ अर्ब २७ करोड पुगेको छ ।
त्यसैगरी यस अवधिमा आन्तरिक कर्जा १२ दशमलव २ प्रतिशतले बढेको र बंैक तथा वित्तिय संस्थाको निक्षेप ८ दशमलव ३ प्रतिशत तथा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १५ दशमलव ३ प्रतिशतले बढेको छ । यस अवधिमा केन्द्रीय बैंकले रु ४७ अर्ब १८ करोड तरलता प्रवाह गरेको छ ।
त्यसैगरी राष्ट्र बैंकले यस अवधिमा नेप्से सूचकाङ्कमा सुधार आएको, वित्तीय पहुँचमा विस्तर, बैंक तथा वित्तीय नियमनमा सुधार आएको जनाएको छ ।