
नेकपा महासचिव विष्णु पौडेलले अतिक्रमित भूमि फिर्ता लिन संसदबाट संविधान संशोधन विधेयक पारित हुने आजको दिनलाई नेपालको इतिहासमा स्वर्ण अक्षरले लेखिने विश्वास व्यक्त गरेका छन् ।
संविधान संशोधन दोस्रो संशोधन विधेयकमाथि प्रतिनिधि सभामा शनिवार भएको दफावार छलफलमा भाग लिँदै नेकपा महासचिव पौडेलले नक्सा प्रकाशित गर्ने सन्दर्भमा देखिएको एकता नेपाली भूमिमा आफ्नो उपस्थिति कायम गर्ने मामिलामा एक हुनुपर्ने बताएका हुन् ।
‘यो ऐतिहासिक अभिभारा पूरा गर्नको लागि नेपाल सरकारले जुन प्रकारको अग्रसरता लियो, नेपालको नक्सा प्रकाशित गर्ने जुन निर्णय गर्यो, त्यसका लागि प्रधानमन्त्री केपी ओलीलाई बधाई दिन चाहन्छु,’ पौडेलले भने ।
महासचिव पौडेलले कालापानी, लिम्पियाधुरा र लिपुलेकमा नेपालको हक स्थापित गर्ने कदम कसैका विरुद्धको निर्णय नभएको स्पष्ट गरे । ‘नेपालको यो निर्णयले भारतसँगको सम्बन्ध बिग्रने छ भन्ने ढंगले टिप्पणी गरेको पनि सुनिएको छ । नेपाल नेपालको पक्षमा उभिँदा, सार्वभामिकता र भौगोलिक अखण्डताको पक्षमा उभिँदा उनीहरूको दिल दुख्छ भन्ने लघुताभासबाट हामी उभिने होइन । आत्मविश्वास बोकेर अगाडि बढ्नुपर्छ । हाम्रो भूमिमा हक स्थापित गरेर छिमेकीसँगको सम्बन्ध अगाडि बढ्छ,’ पौडेलले भने ।
पौडेलले नयाँ सच्चाइमा उभिएर छिमेकीसँगको सम्बन्ध अगाडि बढाउन सकिने बताए । ‘नयाँ नक्सा प्रकाशित गरेर अतिक्रमित भूमिमा हक स्थापित गर्दैछौं, यसले छिमेकीसँगको सम्बन्ध र अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ ढंगले अगाडि बढाउन चाहन्छौं भन्ने विश्वास दिएको छ,’ पौडेलले भने ।
महासचिव पौडेलले नयाँ नक्सा प्रकाशित गर्ने र संविधान संशोधन गर्ने निर्णय अतिक्रमित भूमि प्राप्ति गर्ने संकल्प भएको उनले बताए । ‘सिंगो राष्ट्रको एकताको बलमा हामीले गुमेको अतिक्रमित भूमि प्राप्त गर्नेछौं । नक्सा मात्र प्रकाशित गरेर रहने छैनौं, त्यो आत्मविश्वास बोकेर बैठक कक्षबाट निस्कनुपर्छ । अतिक्रमित भूमि प्राप्ति गर्ने संकल्प हो,’ पौडेलले भने ।