०६ साउन २०८३, बुधबार

धमाधम कोरोना बीमा गर्दै जनप्रतिनिधि

जेठ ३१, २०७७
धमाधम कोरोना बीमा गर्दै जनप्रतिनिधि

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाकाका जनप्रतिनिधिले कोरोना भाइरसको बीमा धमाधम गर्न थालेका छन् । 

स्थानीय सरकारका जनप्रतिनिधिले जनतासंँग प्रत्यक्ष रुपमा घुलमिल रहने भएकाले कोभिड १९ सङ्क्रमणको खतरा हुने जनाउँदै उनीहरुले कोरोना बीमा धमाधम गर्न थालेका हुन् । गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङको व्यक्तिगत खर्चमा यहाँका ५७ जनप्रतिनिधि तथा गाउँपालिकाको कोरोना कोषबाट ७२ कर्मचारीको रु एक लाखको कोरोना बीमा गराएको गाउँपालिकाले जनाएको छ । 

कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि अग्रपङ्क्तिमा खटिएका जनप्रतिनिधि र कर्मचारीको मनोबल उच्च बनाइराख्न उनीहरुको बीमा गरेको अध्यक्ष तामाङले बताए । 

आइएमई जनरल इन्स्योरेन्समा कर्मचारी र जनप्रतिनिधि गरी १२९ जनाको रु एक लाखबराबरको एक वर्ष अवधिको बीमा गरेको अध्यक्ष वंशलाल तामाङले जानकारी दिए । वडा नं १० का जनप्रतिनिधिको भने वडाध्यक्ष जीवन थापामगरले बीमा गरिसकेका छन्। 

खानेपानी योजना सम्पन्न गर्न समस्या

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले मुलुकभर लागू गरेको बन्दाबन्दीका कारण सिन्धुपाल्चोकको विकास निर्माणको कार्यमा प्रत्यक्ष असर परेको छ । 

बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको प्रभावित क्षेत्रमा बन्दाबन्दीका कारण यो आर्थिक वर्षमा सम्पन्न हुने खानेपानी योजनाका काम प्रभावित भएको हो । खानेपानी मन्त्रालयले यस क्षेत्रको खानेपानीको सहज आपूर्तिका लागि चालू आवमा मात्रै रु ६ करोडभन्दा बढी रकम विनियोजन गरेको थियो ।

खानेपानी मन्त्री बीना मगरसँग पूर्वमन्त्रीसमेत रहेका प्रतिनिधिसभा क्षेत्र नं २ का सांसद शेरबहादुर तामाङले यस क्षेत्रका स्थानीयवासीको खानेपानी आपूर्ति सहज बनाएरमात्रै मेलम्चीलाई काठमाडौँ लैजानका लागि आग्रह गरेका थिए ।

खानेपानी मन्त्रालयबाट मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रमा गत वर्ष मेलम्ची खानेपानी आयोजनामार्फत ६३ वटा आयोजनाको डिपिआर सम्पन्न भई २४ वटा आयोजना शुरु भएको छ । तर बन्दाबन्दीका कारण उक्त योजना सम्पन्न हुन ढिलाइ भएको सांसद शेरबहादुर तामाङले जानकारी दिए ।
 
सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, हेटौँडाका कामु आयोजना प्रमुख मोहनलाल जैसीले प्रभावित क्षेत्रका आयोजनालाई उच्च प्राथमिकतामा राखिएकाले सकेसम्म समयमै सम्पन्न गरिने जानकारी दिए । प्रभावित क्षेत्रका ४९ आयोजनामध्ये पुराना र नयाँ गरी करिब २० आयोजनाको सम्झौता सम्पन्न भएका र बाँकी आयोजनाका लागि पाइप र फिटिङ्सको बोलपत्र प्रक्रियामा गएको छ ।
 
मेलम्ची खानेपानी प्रभावित क्षेत्रमा आगामी वर्षका लागि ९० भन्दा बढी खानेपानी योजना प्रस्ताव गरिएको र सन् २०२२ सम्ममा प्रभावित क्षेत्रमा गुणस्तरीय खानेपानी वितरण कार्य सम्पन्न गर्न पहल भइरहेको सांसद तामाङले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्