
निर्दोष एन पि
भन ! चप्पल तिमी र म मा के फरक छ ?
तिमीले पनि तिम्रा मालिकहरूलाई बोक्छौ ,
म पनि त मेरा मालिकहरूका आदेशहरूलाई बोक्छु ,
तिम्रा मालिकहरूले हमेशा तिमीलाई कुल्चिरहन्छन ,
देखेका छौ कहिल्यै मेरा मालिकहरूले मलाई शिरमा राखेको ?
तिमी आफुले चाहेको बाटोतिर हिड्नै सक्दैनौं ,
मलाई पनि त रोकिन्छ बाटो बदल्न खोज्दा ,
तिमी दैलो बाहिर बसेर मालिक चिहार्छौ ,
म पनि त भित्र छिरेको कुनै इतिहास छैन ,
तिमीलाई काँडाहरूले घोचिरहन्छन बेलाबेलामा ,
साथी मलाई पनि त तिरस्कारहरूले घोचिरहन्छन ,
तिम्रा छापहरू पनि मेटिदै जान्छन ,
मेरो इतिहास पनि त मेटिएको छ इतिहासबाट ,
'तिमी' र 'म' संगै सगरमाथाको चुचुरोमा पुगेका होइनौं ?
खै कुन पत्रीकाले लेख्यो ,
'फलानो चप्पल र मान्छेले सगरमाथाको सफल आरोहण गरे ?'
तिमीलाई फरक फरक कम्पनीहरूले बनाउछन ,
मेरो पनि त फरक फरक जात बनाईएको छ ,
तिमीलाई करोडौंमा किनेपनी तिमी मन्दिर छिर्न सक्दैनौं ,
कहिल्यै देखेका छौ मलाई मन्दिर छिर्न दिएको ?
तिमीले नचाहेर पनि झरेको फूललाई कुल्चिनुपर्छ ,
मैले पनि त मेरा पैताला मुनि रहरको बजार कुल्चिएको छु ,
कम्पनी बदलिरहन्छ मालिकका पाउहरूमा
तर तिमी कहिले बदलिएनौ ,
कति निस्वार्थी छौ ,
कति आत्मिय छौ,
बारम्बार कुल्चिन्छौ ,
फेरि पाउहरू मै अङ्गालो हाल्छौ ,
खुब वफादार छौ तिमी ,
लाग्छ म पनि वफादार छु ,
तिमी जस्तै सहनसिल छु ,
उत्तरदायी छु ,
तर किन हाम्रो कदर योगदानको गरिदैन ?
ए! चप्पल,
आउ तिमी र म अब संगै सडकमा जाऔं
र यसरी नारा लगाऔं,
'अतिवाद मुर्दावाद'
'सामन्तवाद मुर्दावाद'
'कुविचारवाद मुर्दावाद'
'आश्वासनवाद मुर्दावाद'
मुर्दावाद , मुर्दावाद ...
ध उप म पा १३, राजपुर