
अहोरात्र अर्थात् रातदिनको समय । अहोरात्र अर्थात् चौबीस घण्टाको समय । पढ्दा वा सुन्दा सामान्यजस्तो महसुस हुनसक्छ । कृतिकार वा उपन्यासकार खेमनाथ दाहालद्वारा लिखित उपन्यासको नामाकरण अहोरात्र गरिएको छ । दाहालले अहोरात्र उपन्यासलाई यथार्थपरक उपन्यासको रूपमा लिपिबद्ध गर्नुभएको छ । उषा दाहाल प्रकाशक रहनुभएको उपन्यासलाई रमेश दाहालले भाषा सम्पादन गर्नुभएको हो । संयोजन कृष्ण भुसालले गर्नुभएको छ भने उपन्यासको बाहिर गाताको सुन्दर आवरण रदालले चित्रांकन गर्नुभएको छ ।
३७१ पेजको आयतनमा अहोरात्र उपन्यास समापन गरिएको छ । कुनै पनि काम सम्पन्न गर्न मानिसभित्र दृढ संकल्प हुन्छ । त्यही दृढ संकल्पले लक्ष्य प्राप्तिको यात्रामा रूपान्तर र सक्रिय बनाउँछ ।
मानिस बिचलित नभएर अगाडि बढेपछिमात्रै हरेक कुराबारे बिस्तृत जानकारी हुन्छ । भनिन्छ नि हिँड्नु भनेको पुग्नु हो । पुग्नु भनेको प्राप्ति हो । प्राप्ति सफलता हो । सफलता सन्तुष्टि हो । सन्तुष्टि शून्यता हो । शून्यता शुरूआतको विन्दु हो । शून्यता अन्त्यको विन्दु पनि हो ।
अहोरात्र उपन्यासको भित्रतिर छिरेर हेर्दा एउटा पाटो प्रष्ट देखिन्छ- साँच्चिकै मानिस इमानदार भएर बाँच्छ कि बाँच्दैन ? मानिस बाँच्नु र इमानदार भएर बाँच्नु धेरै फरक कुरा हुन् । एउटा लेखकले इमानदार भएर लेख्छ कि लेख्दैन ? यो पनि त्यत्तिकै महत्वपूर्ण छ ।
हामीले आजसम्म आइपुग्दा थुप्रै मानिस भेटेका हुन्छौँ । थुप्रै लेखकहरू भेटिरहेका हुन्छौँ । साँच्चिकै ती इमानदार छन् ? मानिस कति विचलित मानसिकतामा बाँचिरहेको हुन्छ ? एउटा मानिस एउटै कुरालाई विभिन्न ठाउँमा विभिन्न तरिकाले व्यक्त गरिरहेको हुन्छ । त्यही मानिस काठमाडौंमा एउटा विचार व्यक्त गरिरहेको हुन्छ । इलाममा बोल्दा अर्कै–अर्कै बोलिरहेको हुन्छ । कञ्चनपुरमा अर्कै–अर्कै बोलिरहेको हुन्छ ।
के कुराको दबाबमा त्यही मानिस अर्को–अर्को ठाउँमा पुग्दा अर्कै–अर्कै बोलिरहेको हुन्छ ? मानिसले आफ्नो दृढ संकल्प किन गुमाउँछ ? जुन प्रवृत्तिका कारण पाठक र शुभचिन्तक भ्रमित बनिरहेका हुन्छन् ।
दाहालले लेख्नुभएको अहोरात्र उपन्यास सामान्य उपन्यास होइन । नेपाली साहित्यको उपन्यास विधामा एउटा सशक्त उपन्यास हो भन्दा संकोच मान्नु पर्दैन । अहोरात्र उपन्यासभित्र नेपालबाट अमेरिका गएदेखि नेपाल नफर्किउन्जेल सम्मको गतिविधिलाई उहाँले सुन्दर ढंगले लिपिबद्ध गर्नुभएको छ । सुन्दर औपन्यासिक शैलीमा चित्रित गरिएको छ । उपन्यास रहरले लेखिने विषय पनि होइन । एउटा लेखकले लेख्ने कुरा सिध्याए पनि आत्मविश्वास गुमाइसकेको थुप्रै दृष्टान्त भेटिन्छन् । आफ्नो लेखनमा विश्वस्त नभएर त्यही कृतिमा समालोचक खोजी–खोजी आफ्नो प्रसंशा लेखाएर आफ्नो कृतिको भव्यता देखाउने आत्मरतीको बाटोमा तल्लीन भएको पाइन्छ । तर, अहोरात्र उपन्यासमा लेखकले भूमिका लेखाएर गुणगान गाउन लगाउने शैलीबाट मुक्त भएर आफ्नो लेखनप्रति दृढ विश्वाससहित अगाडि बढेको पाइन्छ ।
उपन्यासमा सिधै आफ्नो कलम अगाडि बढाउनुभएको छ । लेखकले आफ्नो दृष्टिकोण सुन्दर शैलीबाट लिपिबद्ध गर्नुभएको छ । नेपाली जनजीवनको एउटा पूर्वीय मान्यता छ । सभ्यता छ । संस्कृति छ । संस्कार छ । त्यो कुरा अमेरिकाजस्तो एउटा सम्पन्न देशमा पुगिसकेपछि मानिसहरू विचारमा विचलित भएर यहाँको नेपाली नागरिकता च्यातेर उताको नागरिकता लिने र राष्ट्रवादको ठूलाठूला कुरा गर्ने प्रवृत्ति हावी भएको पाइन्छ ।
हाम्रो जीवनदर्शनको आफ्नै विशिष्ट पद्धति छ । हाम्रो बेग्लै पूर्वीय मान्यता छ । हाम्रो आफ्नै धार्मिक मान्यता छ । हाम्रो आफ्नै शास्त्रीय मान्यता छ । त्यसमा कत्ति पनि विचलित नभएर वा पात्रलाई प्रस्तुत गराउन कलम चलाउनुभएको छ वा जुन तरिकाले औपन्यासिक शैलीमा प्रस्तुत हुनुभएको छ त्यो स्वागतयोग्य छ । प्रसंशनीय छ ।
यति ठूलो आकारको वा आयतनको पुस्तक लेख्दाखेरी जुन पात्रसँग संवाद भइरहेको छ । त्यो कथा यो पुस्तक अन्त्य हुँदा कथा पनि अन्त्य हुन्छ होलाजस्तो लागिरहेको थियो । कथाको बाटो अन्त्य नभएर कथाका पात्रले गरिरहेको संवाद पुनः अमेरिकामा भेट भएर कथा अझैँ अगाडि बढ्ने सम्भावनासहित लेखन अन्त्य गरिएको छ ।
यस्तो वा त्यस्तो हुन्छ होला भन्ने मनमा उत्सुकता बाँकी रहँदा रहँदै कथाको अन्त्य भएको छ । जीवनदर्शनको पाटोलाई आत्मसात गर्दै दार्शनिक चिन्तनको शास्त्रार्थ आरोहण भएको पाइन्छ । धार्मिक दृष्टिकोणबाट हेर्दा जुन हिन्दू धर्मप्रतिको लेखकको आस्था विश्वास भरोसा कतै नडगमगाएर जसरी उनीहरूलाई बुझाउने शैलीबाट प्रस्तुत हुनुभएको छ । त्यो सह्रानीय काम गर्नुभएको छ ।
हामी कतिपय कहिलेकाही धर्म निरपेक्षताको नाममा जुन शैलीको नाटक मञ्चन गरिरहेका हुन्छौँ । त्यो साँच्चिकै मनदेखि गरिरहेका हुन्छौँ कि बनावटी गरिरहेका हुन्छौँ यो पनि गम्भीर प्रश्नको रूपमा उभिएको छ ।
उपन्यासमा भएको पात्र नेपाल आइसकेपछि उसले बुझ्ने बौद्ध धर्म सम्बन्धिको कुराकानी पनि महत्वपूर्ण छ । नेपालको पर्यटनलाई जसरी औपन्यासीकरण गरिएको छ त्यो पनि उल्लेखनीय काम भएको छ । पात्र नेपाल आइसकेपछि उसले कल्पना गरेको बौद्ध धर्मको कुरालाई बुझ्ने सिलसिलामा उसले महसुस गरेको कुरा पनि त्यत्तिकै सान्दर्भिक छ । बौद्ध विचार वा बौद्ध धर्म बुझ्नको लागि नेपालनै आउनुपर्ने रहेछ भन्ने महसुस पात्रलाई भएको कुरा सुन्दर शैलीबाट प्रस्तुत गरिएको छ ।
अमेरिकाको यात्राको तयारीमा रहेका वा पुगेकालाई पनि राम्रो शिक्षा दिन्छ । त्यहाँ पुगेर बाँच्नुपर्ने वा गर्नुपर्ने कठिक संघर्षलाई पनि प्रष्ट्याउन खोजिएको छ । यथार्थ घटनाहरूको यथार्थ स्वरूप देखाउने काम गरिएको छ । यसलाई यथार्थ उपन्यास पनि भनिएको छ । अहोरात्र उपन्यास पढ्दै जाँदा वास्तविकतामा यथार्थ उपन्यास नै हो भन्दा अनुपयुक्त हुँदैन ।
अहोरात्र उपन्यास दार्शनिक चिन्तनको शास्त्रार्थ आरोहण हो । उपन्यासकार खेमनाथ दाहाललाई हार्दिक बधाई एवम् शुभकामना !