
प्रदेश २ सरकारको आगामी आर्थिक वर्ष ०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रदेशसभाको आजको बैठकले प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो।
प्रदेशसभामा मुख्यमन्त्री लालबाबु राउतले नीति तथा कार्यक्रमलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए। सभामुख सरोजकुमार यादवले सो प्रस्ताव बहुमतबाट पारित भएको घोषणा गरेका थिए।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलगायत प्रतिपक्षी दलका सभासदहरुले नीति तथा कार्यक्रमको विरोध गर्दै प्रस्तुत गरेको संशोधन प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो। प्रदेशसभा सदस्यहरु बाबुलाल साह, दिलीपकुमार साह, शिवचन्द्र चौधरी, गोविन्दबहादुर न्यौपाने, रुबीकुमारी कर्ण, नरेशकुमार यादव, सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङलगायतकाले संशोधन प्रस्ताव पेश गर्नुभएको थियो ।
छलफलमा उठेका विषयमा मुख्यमन्त्री राउतले प्रदेश सरकारको भूमिकालाई प्रभावकारी बनाउँदै स्थानीय साधन स्रोतको अधिकतम उपयोग गर्दै समृद्धि र विकासमा अघि बढ्ने धारणा व्यक्त गरे। छलफलमा छुटेका विषयवस्तुलाई आगामी दिनमा समेटेर लैजाने मुख्यमन्त्रीले प्रतिबद्धता व्यक्त गरे।
मुख्यमन्त्री राउतले यस प्रदेशलाई नमूना प्रदेश बनाउने बताउँदै यसका लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने बताए। गत बुधबारको बैठकमै प्रस्तुत गरिने कार्यसूचीमा रहेको नीति तथा कार्यक्रम पारित हुन नदिन सत्तारूढ दलका सांसदहरु अनुपस्थित रहँदै आएका थिए। प्रदेशसभाको अर्को बैठक असार १ गते साँझ ५ बजे बस्नेछ।