
लामखुट्टे मानव जातिको सबभन्दा ठूलो हत्यारा हो । यसले १०० वटा रोग लगाउने मान्यता छ ।
औलो, डेंगु, चिकनगुन्या, जिका जस्ता खतरनाक रोग लामखुट्टेले टोकेर नै लाग्ने हुन् ।
यी खतरनाक रोगबाट बच्नका लागि वैज्ञानिकहरूले लामखुट्टेकै र्यालबाट खोप बनाउने विषयमा अनुसन्धान गरिरहेका छन् ।
अमेरिकाको नेसनल इन्स्टिच्युट अफ एलर्जी यान्ड इन्फेक्सियस डिजीजकी अनुसन्धाता जेसिका म्यानिङ लामखुट्टेको र्यालमा भएको प्रोटीनको उपयोग गरेर खोप बनाउने प्रविधिमा अनुसन्धान गरिरहेकी छन् । यस प्रविधिमार्फत कीराको माध्यमले फैलिने सबै किसिमका रोगका लागि एउटै खोपको निर्माण गर्न सकिन्छ ।
आफ्ना सहयोगीहरूसँग काम गर्दै म्यानिङले यो खोपको परीक्षण मानिसहरूमा गरिरहेकी छन् । द ल्यान्सेटमा प्रकाशित खबरअनुसार, मानिसहरूमा गरिएको परीक्षण सफल पनि भएको छ ।
परीक्षणमा एनोसफिलीज लामखुट्टेको र्यालमा आधारित खोप उपयोग गरिएको हो । मानव शरीरमा एन्टीबडी र सेलुलर प्रतिक्रियालाई ट्रिगर गर्ने क्षमता पाइयो अनि मानिसमा उपयोगका लागि सुरक्षित पाइयो ।
विश्व स्वास्थ्य संगठनका अनुसार, सन् २०१७ मा लामखुट्टेबाट फैलिने औलोका कारण चार लाख ३५ हजार मानिसको मृत्यु भएको थियो । तीमध्ये ८० प्रतिशत मृत्यु अफ्रिका र दक्षिण एसियामा भएको थियो ।