०४ असार २०८३, बिहीबार

यसरी भएको थियो क्वारेन्टीनमा सामूहिक बलात्कार

असार २, २०७७
यसरी भएको थियो क्वारेन्टीनमा सामूहिक बलात्कार

कैलालीको लम्कीचुहा नगरपालिका–१ की ३१ वर्षीया युवती ६ महिनाअघि कामको खोजीमा भारतको बैङलोर पुगिन्। श्रीमान् कान्छी श्रीमती लिएर झन्डै ७ वर्षअघि भारत भासिएपछि दुई बच्चाको लालनपालन गर्न उनी पनि त्यतै गएकी हुन्।

भाँडा माझ्ने काम कोरोना महामारीले रोकियो। झन्डै दुई महिनापछि उनी गैरीफन्टा नाका हुँदै जेठ २० गते लम्की पुगिन्। नाबालक छोराछोरी र नजिकै रहेका माइती भेट्ने रहर हुँदाहुँदै पनि उनी स्थानीय सरकारले बनाएको क्वारेन्टीनमा बसिन्। सरकारले पहरा दिने भनिएको क्वारेन्टीनमा शनिबार राति सामूहिक बलात्कारको सिकार भइन्।

क्वारेन्टीनका लागि निश्चित मापदण्ड छन्। सुरक्षा, स्वास्थ्यकर्मी, खानपान, नियमित रेखदेख। तर, लम्की चुहा–१ ले व्यवस्थापन गर्दै आएको सहिद स्मृति माविमा उनी तीन जनाको बलात्कारमा परेकी हुन्।

विद्यालयमा जति बेला जो पनि निर्धक्क प्रवेश गर्ने वातावरण छ। दिउँसै असुरक्षित रहेको विद्यालयको छेउ कोठामा १४ दिन क्वारेन्टीन बसेका ३३ जना घर फर्किए। अर्की एक महिला श्रीमान्सँगै बसिन्। ती युवतीलाई त्यही छेउको कोठामा बस्न भनियो। १२ दिन पुगिसकेको भए पनि उनको आरडीटीसम्म भएको थिएन। चुकुलसमेत नभएको कोठाभित्र उनी ढोकामा बेन्च राखेर सुत्थिन्।

राति १२ बजेदेखि नै पानी परिरहेकाले जस्ताले छाएको कोठामा चर्को आवाज आइरहेको थियो। पीडित महिलाका अनुसार क्वारेन्टीनको सुरक्षामा खटिएका स्वयंसेवक लक्ष्मण परियार पटकपटक ढोका र झ्यालमा हिर्काउँदै ढोका खोल्न भनिरहेका थिए। निकै बेर ढोकामा हिर्काएपछि उनले रिसाउँदै ढोका खोलिन्। लक्ष्मणले उनलाई धकेल्दै अर्को भवनमा पुर्‍याए। कोठा बन्द गरे अनि बलात्कार गरे। उनले मध्यराति उनले हारगुहार गरिन्। अर्का स्वयंसेवक किशोर परियार उनको नजरमा परे।

उनी भन्छिन्, ‘मैले उनको खुट्टा समातेरै बचाउन आग्रह गरें तर उनले पनि उल्टै बलात्कार गरे।’ पहिलो र दोस्रो बलात्कारको भिडियो सर्जन विक नामका अर्का युवकले खिचिरहेका रहेछन्। उनी भन्छिन्, ‘सर्जनले पनि मलाई पैसा दे, नत्र त्यो भिडियो भाइरल बनाइदिन्छुु भन्दै धम्की दिए।’ उनले इज्जतको डरले पनि तत्काल प्रतिवाद गर्न नसकेको बताइन्। उनले भाइलाई खबर गरेको सुनाइन्। उनले सामूहिक बलात्कार आरोप लगाउँदै उनीहरुविरुद्ध जाहेरी दिएकी छन्।

छेउ कोठामा १४ दिन क्वारेन्टीन बसेका ३३ जना घर फर्किए। अर्की एक महिला श्रीमान्सँगै बसिन्। ती युवतीलाई त्यही छेउको कोठामा बस्न भनियो। १२ दिन पुगिसकेको भए पनि उनको आरडीटीसम्म भएको थिएन।
बलात्कार आरोपमा प्रहरीले क्वारेन्टीन व्यवस्थापनमा खटिएका किशोर परियार, लक्ष्मण परियार र सर्जन विक तीनै जनालाई पक्राउ गरेको छ। ‘अनुसन्धानमै भएकाले त्यसबारे केही बोल्न मिल्दैन’, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी प्रतीक विष्टले भने।

इलाका प्रहरी कार्यालय लम्कीका अनुसार २२ वर्षीय किशोर स्थानीय स्वाथ्यकर्मी हुन् भने २० वर्षीय लक्ष्मण र १८ वर्षीय सर्जन वडाले खटाएका स्वंयमसेवक हुन्। क्वारेन्टीन व्यवस्थापनका लागि उनीहरुलाई दैनिक १ हजारदेखि १५ सय रुपैयाँसम्म पारि श्रमिक दिने गरी वडाले खटाएको थियो। घटनापछि आक्रोशित स्थानीयले आइतबार र सोमबार दिनभर प्रदर्शन गरे।

सोही क्वारेन्टीनमा बस्दै आएकी रामदेवी सिंहले भनिन्, ‘कोरोनाको डर एकातिर छ, त्यसैमाथि क्वारेन्टीनभित्रै बलात्कार हुन थालेपछि त्रास बढेको छ। स्वयंसेवकबाटै यस्तो घटना भयो। कसको विश्वास गर्ने ? ’

विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोतिकला चलाउनेले खान र बस्नका लागि समस्या भए वडाध्यक्षलाई खबर गर्ने र सुरक्षाको जिम्मा स्वयं सेवकहरुले गर्ने गरेको बताए।

लम्की चुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईंले लम्की घटना खेदपूर्ण भएको बताए। बजगाईंका अनुसार लम्की चुहा नगरपालिकामा ३६ वटा क्वारेन्टीनमा ४ हजारभन्दा बढीलाई राखिएको छ।

क्वारेन्टीन व्यवस्थापनका लागि वडाध्यक्षको नेतृत्वमा सम्बन्धित विद्यालय व्यवस्थापन समिति, विद्यालयका प्रधानाध्यापक र वडाका प्रतिनिधि रहने व्यवस्था छ। ‘क्वारेन्टीनभित्रै भएको घटनाले दुःखित बनाएको छ, दोषीलाई कानुनबमोजिम कडा कारबाही हुनुपर्छ’, बजगाईंले भने, ‘आरोपितहरु पक्राउ परिसकेका छन्। हामीले कार्यपालिकाबाटै खेद प्रस्तावसमेत पारित गरेका छौं। कानुनतः कारबाही हुनुपर्छ।’ घटनाको कमजोरीबारे छानविन गरिने उनले बताए।

क्वारेन्टीन व्यवस्थापनको जिम्मा वडाको भए पनि त्रुटि देखिएको स्थानीयले बताएका छन्। वडा कार्यालयले ती दुवै जना वडाले राखेका कर्मचारी होइनन् भनी विज्ञप्ति जारी गरेको छ।

वडाध्यक्ष जनकबहादुर बमले सुरुदेखि नै क्वारेन्टीनबारे लापरवाही गर्ने गरेको आरोप लाग्दै आएको थियो। वडाध्यक्ष बमले लम्की बहुमुखी क्याम्पसको क्वारेन्टीनमा म्याद सकिएको बिस्कुट खाजाका रुपमा यसअघि दिएका थिए। लम्की चुहाकी कोरोना संक्रमति महिला पानसरा वि.कलाई १२ दिनमै घर पठाएका थिए। १४ दिनमा उनको रिपोर्ट पोजिटिभ आएपछि उनको सम्पर्कमा रहेका थप ५२ जनालाई क्वारेन्टीनमा राख्नुपरेको थियो।

नगर प्रमुख बजगाईंले वडाले नै राखेका स्वयंसेवक घटनामा जोडिएको स्वीकार्दै गर्दा वडाध्यक्ष बमले भने घटनामा बाहिरबाट आएकाहरुको संलग्नता रहेको भन्दै विज्ञप्ति प्रकाशित गरेका थिए।

बलात्कारको विरोधमा आक्रोशित स्थानीयले वडा कार्यालयमाथि तोडफोड पनि गरेका छन। उनीहरुले दोषीमाथि कारवाहीको माग गरेका छन्। सोमबार प्रदेशसभामा सांसद पूूर्णा जोशी र नन्दा बमले दोषीमाथी कारबाही माग राख्दै महिलाका लागि अलग्गै क्वारेन्टीनको माग गरे। लम्की क्षेत्रका प्रदेशसभा सदस्य रतन थापाले, दोषीलाई बचाउने कार्य भइरहेको भन्दै जुनसुकै दलका भए पनि कारबाही हुनुपर्ने बताए। अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्