०१ असार २०८३, सोमबार

नेपालसँगको सीमा विवाद वार्ताको माध्यमबाट हल गर्नुपर्छः भारतीय रक्षामन्त्री

असार २, २०७७
नेपालसँगको सीमा विवाद वार्ताको माध्यमबाट हल गर्नुपर्छः भारतीय रक्षामन्त्री

भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालसँगको सीमा विवाद वार्ताको माध्यमबाट हल गर्ने बताउनुभएको छ । उत्तराखण्डमा आयोजित जनसम्वादमा सोमबार बोल्दै उनले मैत्रीपूर्ण ढङ्गबाट समाधान गर्ने बताउनुभएको हो । “नेपालसँग हाम्रो केबल सामाजिक, भौगोलिक, ऐतिहासिक र सांस्कृतिक सम्बन्ध मात्र हैन आध्यात्मिक सम्बन्ध पनि छ । भारत नेपालबीच सीमाको विषयमा जुन भ्रमको स्थिति बनेको छ, एक आपसमा मिलेर बसेर बातचितको माध्यमबाट समस्याको हल गर्नेछौँ', उहाँले भन्नुभयो । नेपालका मानिसप्रति भारतमा कहिले कटुताको भाव नरहेकोसमेत उहाँले सुनाउनुभयो ।

कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको भूभाग नेपालको नक्सामा अद्यावधिक गरिसकेपछि पछिल्लो समय भारत सरकारमा निकै ठूलो दबाव सिर्जना भएको छ । भारत देशभित्रै नेपाल भारत सम्बधलाई लिएर दुईमतको सिर्जना भइरहेको छ । नेपालको नयाँ नक्सा भारतलाई मान्य नहुने प्रतिक्रिया केही दिन अघि विदेश मन्त्रालयका प्रवक्ताले दिएका छन् ।

यतिबेला रक्षामन्त्री सिंहले त्यो टिप्पणी विपरीत लचिलो हुँदै मैत्रीपूर्ण भावमा वार्ताबाट सीमा समाधान गर्ने भनाइ सार्वजनिक गरेका हुन् । तर उनले त्यहाँ बनेको सडक अझै पनि भारतकै भूमिमा बनेको दाबी भने गर्न छाडेनन् । त्यो भूभाग ऐतिहासिक तथ्य र प्रमाणको आधारमा परापूर्वकालदेखि नै नेपालको रही आएको छ । उनै रक्षामन्त्री सिंहले त्यहाँको बाटोको उद्घाटन गर्नुभएपछि नेपालले आफ्नो भूमिको सहितको नक्सा अद्यावधिक गरेको हो ।

सिंहले मानसरोवर यात्रा पहिले सिक्किम हुँदै जाने गरेकामा अब धार्चुला लिपुलेख लिङ्क रोडबाट जाँदा यात्रुलाई सहज हुने बताए । “यस सडकलाई लिएर हाम्रो छिमेकी मुलुक नेपालमा केही भ्रम पैदा भएको छ । भारत र नेपालको बीचमा जुन सम्बन्ध छ त्यो कुनै सामान्य सम्बन्ध हैन । भारत नेपालको सम्बन्ध रोटीबेटीको सम्बन्ध हो,“ उनले अगाडि भनेका छन् । 

उनले नेपाल भारतको अाध्यात्मिक सम्बन्धको हवाला दिर्दै पशुपतिनाथ, विश्वनाथ, सोमनाथ र अमरनाथलाई कसैले अलग गर्न नसकिने उल्लेख गरे । यो सम्बन्ध यस लोकको नभई कुनै दोस्रो लोकको भएकाले कसैले चाहदैमा यसलाई बदल्न नसक्ने टिप्पणी उनको थियो ।

नेपाल हुँदै बग्ने महाकाली कलकत्ता, विन्ध्याचलसँगै सबै स्थानमा पुगेको स्मरण गरे । उनले महाकालीको भक्त उत्तराखण्डको गाउँ गाउँमा भेटिने भन्दै भारत नेपालको सम्बन्ध कसरी टुट्न सक्छ ? भन्ने प्रश्न गरे । “त्यसैले धारचुलाको अगाडि कयौँ तार लगाए पनि यो सम्बन्धलाई काट्न सकिँदैन,” उनले फकाउने लवजमा थपे ।

उनले भारतीय सेनामा रहेको गोरखा रेजिमेन्टको प्रशंसासमेत गर्नुभयो । “यस समय म रक्षामन्त्रीको जिम्मेवारी निर्वाह गरिरहेको छु, यहाँ गोरखा रेजिमेन्ट छ, जसले समय समयमा आफ्नो सौर्य र पराक्रमको परिचय दिएको छ । त्यो गोरखा रेजिमेन्टले पनि सधैं उद्घोष गर्छ, जय महाकाली, आयो गोरखाली,” भारतीय रक्षामन्त्रीले साे क्रममा भनेका छन् । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्