०५ असार २०८३, शुक्रबार

घरबाहिर खाँदा कसरी सुरक्षित रहने ?

असार २, २०७७
घरबाहिर खाँदा कसरी सुरक्षित रहने ?

 लकडाउन खुकुलो भएपछि बजार, पसल र कार्यालय खुल्न थालेका छन् । तर घरबाहिर चिया, खाजा, खाना कसरी सुरक्षित तरिकाले खाने भन्ने अन्योल छ । कोरोना संक्रमणको दर बढिरहेको अवस्थामा हेलचेक्रयाइँ गरियो भने यसले अर्को जोखिम निम्त्याउन सक्छ । विज्ञहरूले कार्यस्थलका खाजाघर, रेस्टुरेन्ट, कफीसप र होटलमा संक्रमण रोकथामको विशेष उपाय अपनाउनुपर्ने सुझाव दिएका छन् ।

‘क्यान्टिन/होटलमा सेवा दिने व्यक्ति संक्रमित भए भाँडाकुँडाबाट संक्रमण सर्ने उच्च जोखिम रहन्छ,’ त्रिवि शिक्षण अस्पतालका जनरल प्राक्टिस एवं इमर्जेन्सी मेडिसिन विभागका प्रा.डा. प्रतापनारायण प्रसादले भने, ‘जोखिमबाट जोगिन सकेसम्म घरबाटै टिफिनमा खाजा र बोतलमा पानी लिएर कार्यस्थलमा जानु नै उपयुक्त हुन्छ ।’

न्युट्रिसन एन्ड डायटिसियन एसोसिएसन अफ नेपालका अध्यक्ष एवं खाद्य प्राविधिक अतुल उपाध्यायले घरबाट खानेकुरा लगे पनि अफिस वा क्यान्टिन/होटलमा भौतिक दूरी कायम राख्न उनले सुझाव दिए । ‘तात्तातो खाद्यपदार्थलाई प्राथमिकता दिनु राम्रो हुन्छ,’ उनले भने, ‘यदि क्यान्टिनमा खानुपरे प्लेट, काँटा, चम्चा, ग्लासलगायत सेनिटाइज गरेको हुनुपर्छ । नभए खानुअघि आफैंले सेनिटाइज गर्नुपर्छ ।’ हरेक टेबल, कुर्सीमा सेनिटाइजरको व्यवस्था हुनुपर्ने र बस्दा दुई मिटरको फरकमा बस्नुपर्ने उनको भनाइ छ ।


सुरक्षा उपायसहित मापदण्ड नपुर्‍याई सञ्चालन गरिएको क्यान्टिन र होटल कोरोना संक्रमणको थलोका रूपमा देखिन सक्ने भएकाले सरकारले विशेष सावधानी अपनाएर सञ्चालन गर्न आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले ‘कोभिड–१९ महामारी र व्यवस्थित बन्दाबन्दीमा जनस्वास्थ्य मापदण्ड २०७७’ मा समेत क्यान्टिन र होटललाई सम्भावित संक्रमण न्यूनीकरणका लागि विशेष उपाय अपनाउन उल्लेख गरिएको जानकारी दिए ।

मापदण्डअन्तर्गत खानपानमा विशेष सावधानीसँगै प्रयोग भएका भाँडाकुँडा राम्ररी सफा गरेर सुकेपछि मात्र उपयोग गर्न निर्देशन दिइएको छ । एउटा ग्राहकका लागि प्रयोग गरिएको भाँडाकुँडा राम्रोसँग साबुनपानीले धोएर सुकाएर मात्रै अर्को ग्राहकका लागि प्रयोगमा ल्याउनसमेत निर्देशन दिइएको छ । यस्तै, संक्रमणको उच्च जोखियुक्त ठाउँका होटल, रेस्टुरेन्ट, क्यान्टिनबाट खाना प्याकिङ गरेर लैजाने व्यवस्था गर्न भनिएको छ । कम जोखिमयुक्त क्षेत्रमा भने एउटा सिट अर्कोभन्दा दुई मिटरको दूरीमा रहने गरी बस्ने व्यवस्था मिलाउन मापदण्डमा उल्लेख छ ।

‘खाना पस्किने, बनाउने र ग्राहकसम्म पुर्‍याउने सबै व्यक्तिले मास्क लगाउनुका साथै नियमित साबुनपानीले हात धुने वा सेनिटाइज गर्नुपर्छ,’ खाद्य प्राविधिक उपाध्यायले भने, ग्राहकका लागि समेत क्यान्टिनमा प्रवेश गर्नुअघि हातलाई सेनिटाइज गर्नुपर्ने व्यवस्था बाध्यकारी बनाउनुपर्छ ।’ उनले सहकर्मीबाट संक्रमण हुन सक्ने भन्दै सचेत रहन पनि सुझाव दिएका छन् । ‘अब हामी ‘न्यु नर्मल’ को अवस्थामा छौं । पहिलेजस्तै साथीभाइसँग कुम जोडेर एकैठाउँ बसेर चियाखाजा वा खाना खानु हुँदैन,’ उनले भने, ‘तपाईंले भेट्ने जोसुकै व्यक्तिमा संक्रमणको सम्भावना हुन सक्छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्