पाकिस्तानमा रहेको भारतीइ दूतावासका दुई कर्मचारीहरूलाई बन्दी बनाएर यातना दिइएको खुलेको छ ।
सोमवार बिहान अपहरणमा परेका दुई कर्मचारीलाई राति छोडिएको थियो । उनीको स्वास्थ्य अवस्था निकै गम्भीर थियो ।
लगभग १२ घन्टा हिरासतमा राखेर उनीहरूसँग सूचना माग्दै बेस्सरी कुटपिट गरिएको बताइएको छ । ती दुईले पानी माग्दा फोहर पानी पिउन दिइएको थियो ।
हिन्दुस्तान टाइम्समा छापिएको खबरअनुसार, ती दुईसँग उनीहरूको भूमिका तथा उच्चायुक्त कार्यालयका सबै कर्मचारीको कामका बारेमा जानकारी मागिएको थियो ।
सोमवार बिहान लगभग ९ बजेतिर उनीहरूलाई दूतावास नजिक रहेको पेट्रोल पम्पबाट उठाइएको थियो । ६ गाडीमा १५ जना सशस्त्र व्यक्ति आएका थिए । कर्मचारीहरूको हात बाँधियो र आँखामा पट्टी बाँधियो ।
लगभग १० मिनेट टाढा रहेको एक स्थानमा लगेर उनीहरूसँग लगभग ६ घन्टा सोधपुछ गरियो । सोधपुछका क्रममा उनीहरूलाई लट्ठीले हिर्काइयो र फोहर पानी पिउन दिइयो ।
ती दुई मुक्त भएपछि हेर्दा गर्दन, अनुहार र घुँडामा चोटपटक देखिन्छ । स्वास्थ्य परीक्षण गर्दा ज्यानै जाने किसिमको चोटपटक देखिँदैन ।
ती दुई कर्मचारीको कारबाट १० हजार पाकिस्तानी नक्कली रुपैयाँ फेला परेको बताइएको छ । पाकिस्तानी मिडियामा दाबी गरिएअनुसार, भारतीय कर्मचारीको कारले बटुवालाई ठक्कर दिएकाले पक्राउ गरिएको थियो । त्यही न्यारेटिभलाई अगाडि बढाउनका लागि अपहरणकारीहरूले दबाब दिएर दुवै कर्मचारीलाई दुर्घटना गराएको भनी भिडियोमा साबिती दिन लगाएका थिए ।
हाई कमिसनका अन्यको हालत पनि यस्तै हुने भनी दुवै कर्मचारीलाई धम्क्याइएको थियो । उनीहरूलाई राति लगभग ९ बजे भारतीय दूतावास पुर्याइएको थियो ।
पाकिस्तानले प्रतिशोधात्मक कारवाही गरेको भारतको बुझाइ छ । मे ३१ मा भारतले पाकिस्तानी उच्चायुक्तका दुई कर्मचारीलाई जासूसी गर्दै गर्दा रंगेहात पक्राउ गरेको थियो । उनीहरूलाई २४ घन्टाभित्र पाकिस्तान फर्काइएको थियो ।