
सोमबार राति भारत चीन सीमा क्षेत्रमा लद्दाखमा भएको झडपमा २० भारतीय सैनिक मारिएको पुष्टि भएको छ।
भारतीय सेनाले मंगलबार राति नयाँ वक्तव्य जारी गरेर चिनियाा सैनिकहरूसँग सोमबार राति भएको झडपमा घाइते भएका थप १७ जना भारतीय सैनिकहरूको मृत्यु भएको जनाएको हो। यसअघि एक कर्णेलसहित तीन सैनिक मारिएको भारतीय विदेश मन्त्रालयले पुष्टि गरेको थियो।
झडप भएको स्थानमा कर्तव्य पालनाका क्रममा गम्भीर घाइते भएका १७ जना भारतीय सैनिकहरूको सून्यभन्दा तलको तापक्रम र उच्च हिमाली क्षेत्रमा तिनीहरूलाई लागेको चोटका कारण मृत्यु भएको भारतीय सेनाको विज्ञप्तिमा भनिएको छ।
चीनको तर्फबाट भारतीय सेनासँग भएको हिंसात्मक झडपमा चिनियाँ सेना तर्फको हताहतिको बारेमा कुनै विवरण सार्वजनिक भएको छैन।