अर्घाखाँचीको शीतगंगा नगरपालिका–५ जलुकेस्थित हरि माविको क्वारेन्टाइनमा बस्दै आएका १ पुुरुषले आत्महत्या गरेका छन् ।
वडाकै निवासी ४५ वर्षीय ती पुरुषले बुधवार बिहान तन्नाको पासो लगाएर झुण्डिएको अवस्थामा शव फेला परेको जनाइएको छ ।
जेठ १० गते भारतबाट आएका उनको आरडीटी जाँच गर्दा ‘पोजेटिभ’ रिपोर्ट आएको थियो ।
एउटै कोठामा बसेका ३ जना साथीलाई सुत्न लगाई उनले विद्यालय पछाडिको रुखमा झुण्डिएर आत्महत्या गरेको वडाध्यक्ष कमल पौडेलले बताए । पौडेलका अनुसार उनको पारिवारिक अवस्था दयनीय छ ।
उनीसँगै बसेका ३ जनामा पनि आरडीटी रिपोर्ट पोजिटिभ देखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
‘उनलाई पारिवारिक तनाव रहेछ । त्यसमाथि पीसीआर रिपोर्ट आउन ढिलाइ भयो । मंगलवार साँझ उनको परिवारसँग कुराकानी भएको रहेछ,’ अध्यक्ष पौडेलले लोकान्तरसँग भने ।
जेठ २४ गते पीसीआर जाँचका लागि उनको स्वाब संकलन गरिएको थियो । रिपोर्ट अझै आएको छैन । ‘घर परिवार अतिविपन्न, बुवा दमको दीर्घरोगी रहेछन् । आमाको मृत्यु भएको रहेछ । श्रीमतीसँग मंगलवार फोनमा मनमुटाव भएको सँगै बस्नेले फोनमा कुुरा गर्दा सुुनेका रहेछन्,’ अध्यक्ष पौडेलले भने ।
आरडीटी पोजेटिभ देखिएकाले उनको शव निकाल्न सकिएको छैन । सुुरक्षाका उपकरण लिने नगरको टीम सदरमुकाम सन्धीखर्क आएको जनाइएको छ ।