
पर्वतको कुश्मा–३ दुर्लुङको ढकालबारीमा ५ दिनअघि गएको पहिरोमा बेपत्ता १४ वर्षीय किशोर जेनिश विकको शव बुधवार भेटिएको छ ।
बेपत्ताको खोजीका लागि सुरक्षाकर्मी र स्थानीय लागिपरेका थिए ।
गण्डकी प्रदेश कार्यालय पोखराबाट तालिम प्राप्त कुकुर झिकाएर मंगलवार दिनभर समेत खोजी गरिएको थियो ।
बुधवार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुर्लुङ गाउँ कमिटीको अगुवाइमा खोजी गर्दा घरभन्दा तल चौतारी नजिक शव भेटिएको नेकपाका नेता डोलराज शर्माले बताए । सुरक्षाकर्मीको सहयोगमा गाउँ कमिटीको अगुवाइमा खोजी गर्ने क्रममा कमिटीका अध्यक्ष खड्गबहादुर गुरुङले सबैभन्दा पहिले शव देखेको बताइएको छ ।
शनिवार राति परेको मुसलधारे वर्षाका कारण घरमाथिबाट गएको पहिरोमा स्थानीय मीनबहादुर थापा र कमला विकको परिवारका ९ जना पहिरोमा परेका थिए ।
उनीमध्ये ६२ वर्षीय तुलबहादुर थापा, उनकी पत्नी ६० वर्षीया मीनाकुमारी थापा, छोरी ३४ वर्षीया दिपा थापा, नातिनी ११ वर्षीया वीवीशा थापा, नातिहरू १५ वर्षीयका सम्राट र १७ वर्षीय विवेक थापाको मृत्यु भएको थियो ।
छिमेकी २६ वर्षीया कमला विकसहित उनकी ८ वर्षीया छोरी प्रमिशा विक र १४ वर्षीय छोरा जेनिश विकको मृत्यु भएको थियो ।
तुलबहादुर थापाको परिवारका ४ जना र कमला विकको परिवारका २ जनाको कालीगण्डकी र मोदी नदीको संगम धार्मिकस्थल मोदीवेणीमा सोमवार सामूहिक अन्त्येष्टि गरिएको छ भने तुलबहादुरकी छोरी र नातिको जैमिनीघाटमा दाहसंस्कार गरिएको छ ।