०१ असार २०८३, सोमबार

मेलम्चीको खानेपानी परीक्षणको काम असारमै हुने : मन्त्री मगर

असार ३, २०७७
मेलम्चीको खानेपानी परीक्षणको काम असारमै हुने : मन्त्री मगर

खानेपानीमन्त्री बीना मगरले मेलम्चीको पानी परीक्षणको काम असारमै हुने बताएकी छन् ।

राष्ट्रिय सभाको बुधवार बसेको बैठकमा सांसदको प्रश्नको उत्तर दिँदै उनले असारमा परीक्षण सकिएपछि पानी काठमाडौं झारिने बताइन् ।

उनले पानीको वितरणका लागि आवश्यक व्यवस्थापनको काम आयोजना कार्यान्वयन निर्देशनालयले गरिरहेको जानकारी गराइन् । पानीको वितरण काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले नै गर्ने उनको भनाइ थियो । उनले भनिन्, ‘पानी घरघरमा पुग्ने कुरामा शंका गर्नुपर्ने अवस्था छैन ।’

आयोजना समयमा सम्पन्न नहुँदा काठमाडौंवासी मात्रै नभएर सबै नेपाली निराश बनाएको उनको भनाइ थियो । आयोजना सञ्चालनका क्रममा थुप्रै प्रतिबद्धता जाहेर भए पनि विगतमा अन्योल र निराशा देखिएको उनको भनाइ थियो । आयोजना निर्माण भइरहँदा कहिले भूकम्प त कहिले ठेक्का तोड्नुपर्ने अवस्था र निर्माण मजदुरको आन्दोलन लगायतका समस्या आएको मन्त्री मगरले बताइन् ।

अहिले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को प्रकोपबीच पनि पहिलो चरणको आधारभूत काम सम्पन्न हुने क्रममा रहेको उनको भनाइ छ । उनले भनिन्, ‘सबै चुनौती भए पनि आगामी आवको शुरूमा पानी वितरण गरिनेछ, त्यो दिन सबै नेपालीको गौरवको दिन हुनेछ ।’

मन्त्रालयलाई भर्खर मात्रै क्वारेन्टीनमा खानेपानी र शौचालय, सरसफाइ निर्माणको जिम्मेवारी आएकाले त्यो कार्यान्वयनमा लागेको मन्त्री मगरले बताइन् । अहिले आवश्यकतानुसार छिटोभन्दा छिटो कार्यान्वयन गर्न मन्त्रालय अघि बढ्ने उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्