
काठमाडौं, १५ वैशाख –बारामा शुक्रवार गोली चलेको छ । बाराको सिम्रौनगढ नगरपालिकाको कचहरवामा प्रहरी र स्थानीयबीच झडप हुँदा ३ प्रहरी जवान घाइते भएका छन् ।
बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरका अनुसार तस्करी गरेर ल्याइएको कपडा जफत गर्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको हो । ‘तस्करी गरेर ल्याइएको कपडा घरभित्र लुकाएर राखेको अवस्थामा तफत गर्न खोज्दा त्यहाँका स्थानीयले ढुंगामुढा गर्न थालेपछि झडप भएको हो,’ प्रजिअ मानन्धरले लोकान्तरसँग भने ।
प्रजिअ मानन्धरका अनुसार झडपमा परी एक डीएसपीसहित ३ प्रहरी जवान घाईते भएका छन् ।
झडपका क्रममा स्थिति नियन्त्रणमा लिन ३ सेल हवाई फाएर गरिएको जिप्रकाले जनाएको छ ।
प्रहरीले तस्करी गरेर ल्याइएको करीव १० लाख मूल्य बराबरको कपडा पनि जफत गरेको छ । अहिले स्थिति सामान्य रहेको प्रजिअ मानन्धरले बताए ।