०९ असार २०८३, मंगलबार

हिमालपारी पुग्यो कोरोना, मनाङसहित गण्डकी प्रदेशमा देखियो अहिलेसम्मकै उच्च संक्रमण

असार ४, २०७७
हिमालपारी पुग्यो कोरोना, मनाङसहित गण्डकी प्रदेशमा देखियो अहिलेसम्मकै उच्च संक्रमण

गण्डकी प्रदेशमा मनाङसहित पछिल्लो २४ घण्टामा ४२ जना कोरोना संक्रमित देखा परेका छन् । यो संख्या एकैदिनमा देखिएको अहिलेसम्मकै उच्च हो । हिमालपारीको जिल्ला मनाङमा भने पहिलो पटक कोरोना संक्रमण देखा परेको हो । 

प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार बिहान विज्ञप्ति प्रकाशित गरी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १८ जना, तनहुँमा १२ जना, गोरखामा ११ जना र मनाङमा १ जनामा संक्रमित फेला परेको पुष्टि गरेको छ ।
योसँगै गण्डकीमा कोरोना भाइरस संक्रमितको सख्या २ सय ८९ पुगेको छ । 

स्वास्थ्य निर्देशनालयका अनुसार मनाङमा मनाङ चामे गाउँपालिकामा कार्यरत ५७ वर्षीय पुरुष कर्मचारीमा संक्रमण देखिएको हो । उनको घर कपिलबस्तु बाडगंगा १४ रहेकोमा तराईबाट कार्यक्षेत्र फर्किने क्रममा संक्रमण देखिएको जनाइएको छ । अन्य ४१ जना भने भारतबाट फर्केर सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा बस्दैआएका थिए । 

संक्रमित ४२ मध्ये १ जना महिला छन् । उनी गोरखाको पालुङटार नगरपालिकाकी ४० वर्षीया हुन् । पालुङटारकै अन्य ६ जना पुरुषमा संक्रमण देखिएको छ । उनीहरु ४६, ४५, ४२, २८, २३ र ४१ वर्ष उमेरका पुरुष हुन् । त्यस्तै गोरखाकै शहीद लखन गाउँपालिकाका ४ जना पुरुषमध्ये वर्ष ५४, ३१, ३८ र २७ का पुरुषमा कोरोना भाइरस संक्रमण भेटिएको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यबिन्दु नगरपालिकाका वर्ष २१ देखि ४५ उमेर समूहका १५ जना पुरुषमा कोरोना देखिएको छ भने गैँडाकोटका ३ जना छन् । तीमध्ये भरतपुर अस्पतालमा उपचार क्रममा गरिएको परीक्षणमा वर्ष २८ का पुरुषमा संक्रमण देखा परेको हो भने अन्य २ जनाको उमेर समूह खुलेको छैन । 

त्यस्तै, तनहुँको ऋसिङ गाउँपालिकाका ७ जनामध्ये वर्ष २० देखि ४० उमेर समूहका छन् । शुक्लागण्डकी नगरपालिकाका १८ वर्षीय तथा भानु नगरपालिकाका ४ जनामध्ये वर्ष २२, ४०, ४२ र ५२ वर्षीय पुरुष छन् ।  
गण्डकीमा एकै दिनको अवधिमा गत जेठ २५ मा ३८ जनासम्म व्यक्तिमा कोरोना देखिएको थियो । 

गण्डकीका ११ जिल्लामध्ये मुस्ताङबाहेक सबै जिल्लामा कोरोना फैलिन पुगेको छ । गण्डकीमा कुल संक्रमितमध्ये हालसम्म २१ जना निको भइ घर फर्केका छन् । १ जनाको मृत्यु भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्