
भारत–चीन सीमामा रहेका भारतीय सैनिकहरूसँग हतियार त थियो तर विगतका सम्झौताका कारण उनीहरूले हतियार उपयोग नगरेको भारतका विदेशमन्त्री एस जयशंकरले बताएका छन् ।
विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले भारतीय सेनालाई हातहतियार विना नै कसले चिनियाँ सैनिककहाँ पठाएको भनी प्रश्न सोधेका थिए ।
त्यसको जवाफ दिँदै विदेशमन्त्रीले भने, ‘सीमामा तैनाथ गरिएका सबै जवान हतियार लिएरै हिँड्छन् । अनि पोस्ट छोड्दा त झन् उनीहरूसँग हतियार हुन्छ नै । जुन १५ मा गलवानमा तैनाथ जवानहरूसँग् पनि हतियार थियो । तर सन् १९९६ र २००५ मा भारत–चीन सन्धिका कारण आमनेसामने स्थितिमा जवानहरूले बन्दूक प्रयोग गर्दैनन् ।’
सोमवार राति गलवानमा भएको हिंस्रक भिडन्तमा परी २० जना भारतीय सैनिकको मृत्यु भएको थियो ।
तर विदेशमन्त्रीको जवाफले भारतीयहरू सन्तुष्ट छैनन् ।
पत्रकार राहुल पण्डितले ट्वीट गरेर भने, ‘ठीक छ, जवानहरूसँग हतियार थियो । म सम्झौताको कुरा पनि बुझ्छु । तर तपाईंको कमान्डिङ अफिसरको शरीरबाट कीला र काँडेतारले मासु लुछ्दा पनि हतियार उपयोग गर्न सक्नुहुन्न भने हतियार बोकेको के अर्थ ?’
पत्रकार आशुतोषले विदेशमन्त्रीको जवाफमा आपत्ति जनाउँदै भने, ‘विदेशमन्त्रीजी, तपाईंको ट्वीटले कुरा खोल्ने भन्दा पनि लुकाउने काम गरेको छ । भारतीय सैनिकहरूसँग हतियार थियो भने आत्मरक्षाका लागि त्यसको उपयोग किन गरिएन ? यसको उत्तर दिनुस् । यो राष्ट्रिय सुरक्षाको विषय हो । केही नलुकाउनुस्, सत्य कुरा मात्र बताउनुस् ।’