०१ असार २०८३, सोमबार

‘फोक किङ’ जसले पूर्वराजारानीलाई नचाए

कात्तिक २०, २०७४
‘फोक किङ’ जसले पूर्वराजारानीलाई नचाए

रिमिक्स गरिएका गीतमा झुम्ने नयाँ पुस्ताका लागि कुमार बस्नेत नयाँ नाम हुनसक्ला । तर काठमाडौंका रैथाने बस्नेतलाई पुरानो पुस्ताले त ‘फोक किङ’ कै रूपमा चिन्थे । उनको चर्चा नेपालमा मात्र होइन, भारतको सिक्किम र दार्जिलिङमा समेत हुन्थ्यो ।

‘लप्सीको गेडो चुसेर’, ‘उनकै छोरी तरुनी’, ‘लैबरी लै’, ‘छोरीभन्दा आमा तरुनी’ जस्ता अजर अमर गीतका गायक कुमार बस्नेत आजभोलि आराममा छन् । कुनै बेला ‘स्टेज किङ’ को परिचय समेत बनाएका बस्नेतलाई आजभोलि भने स्टेज कार्यक्रममा त्यति जानुपरेको छैन ।

गाउँतिर डुलेर गाउँका भाका खोज्दै काठमाडौं आएर गीत रेकर्ड गर्ने बस्नेतको जोश भने अहिले मनतातो भएको छ । तर अहिले पनि गीत संगीतमै जुटिरहेका बस्नेत बाल्यावस्थामै आफू कुशल नर्तक भएको बताउँछन् । ‘त्यतिबेला मैले गीत गाउने, बजाउने र नाच्ने सबै गर्थें,’ उनी आफ्ना शुरुवाती दिन सम्झँदै बताउँछन्, ‘खास म गायक कहाँ हो र ? डान्सर हो नि ।’

कतिपयले ‘उत्ताउला गीत गाउने गायक’को उपमा दिन्छन् बस्नेतलाई । बस्नेतले महिलाले नक्कल पारेका कुरालाई आफ्ना थुप्रै गीतमा प्रयोग गरेका छन् । आफूले यस्ता गीत समाजबाट प्रभावित भएर नै लेखेको उनी बताउँछन् ।
‘गीत खोज्दै गाउँमा जाँदा सुनेका, देखेका भाकालाई मैले काठमाडौंमा ल्याएर रेकर्ड गराएको हो । यी गीत समाजका गीत हुन् ।’

गीत उत्ताउला नभएको बताउँदै उनी भन्छन्, ‘गाउँतिर तरुनी भन्ने शब्द प्रयोग हुन्थ्यो । मैले त्यही शब्द गीतमा राखिदिएको हो ।’

बाल्यकालदेखि नै नाच तथा गीतको माध्यमबाट नेपालीमाझ परिचित बस्नेत आफूले बीपी कोइराला, राजा महेन्द्रदेखि वीरेन्द्र परिवारको समय भोगेको पनि बस्नेत बताउँछन् ।

एकपटक राजा महेन्द्रसँग भारतको दिल्ली जाने कार्यक्रम थियो । कार्यक्रमका लागि बस्नेत लगायतको टोली दिल्ली जाने निश्चय भयो । बस्नेतलाई डान्सरका रूपमा छनोट गरिएको थियो ।

तर गएकामध्ये कसैले कुमारले गीत पनि गाउँछ, नाच्न पनि नाच्छ भनेर गीत गाउन समेत लगाए ।
‘जान त म नाच्नका लागि गएको थिएँ । तर मैले राजा महेन्द्रकै अगाडि गीत पनि गाउनुपर्ने भयो । मैले राष्ट्रिय गीत गाएँ,’ उनी स्मरण गर्दै सुनाउँछन्, ‘कार्यक्रम सकिएपछि महेन्द्रले धाप मार्दै स्याबास भने ।’

वीरेन्द्र र ऐश्वर्याले दोहोरीमा नाच्थे
पूर्वराजा वीरेन्द्र र पूर्वरानी ऐश्वर्या मात्र होइन, राजा महेन्द्रले पनि खुबै लोकगीत मन पराउने गरेको बस्नेत सुनाउँछन् । ‘राजामा देश र आफ्नो संस्कृतिप्रति खुबै माया थियो । राजारानीले कलाकारलाई धेरै माया गर्थे ।’

अहिलेको परिवेश भने त्यस्तो नभएको बताउँदै बस्नेत सुनाउँछन्, ‘अहिलेको पुस्तामा विदेशी संस्कृतिले उठ्नै नसक्ने गरी घाँटी च्यापेको छ । हाम्रो संस्कृति मर्नै लागेको छ ।’

तर त्यतिबेला आम नेपालीमा मात्र होइन, राजपरिवारमा समेत नेपाली गीत संगीतप्रतिको स्नेह भएको उनले लोकान्तरलाई सुनाए ।

‘हामीलाई राजाले देशका लागि गीत गायौ भनेर स्याबासी दिन्थे । पैसाको बिटो त दिँदैनथे । स्याबासी पाउँदा खुशी लाग्थ्यो ।’

कुनै ताका स्टेज किङ भनेर चिनिएका बस्नेत अहिले भने त्यस्तो अवस्था नभएको सुनाउँछन् । ‘विश्वेश्वरप्रसाद कोइराला, लक्ष्मीप्रसाद देवकोटा, राजा महेन्द्र र वीरेन्द्रको समेत संगत गरेको छु मैले ।’

जातीयताको विरोध
कलाकारको कुनै जात नहुने बताउने कुमार बस्नेत पछिल्लो समय राजनीतिले मान्छेलाई धमिलो पानीमा बाँच्न बाध्य पारेको कुरालाई स्वीकार्छन् ।
kumar 1

‘मैले त नेपाल सङ्लो हुँदाको पानी पनि देखेको छु नि । अहिले जातको नाममा हामी टुक्रिँदै गएका छौं,’ उनी भन्छन्, ‘पहिले हामी एक जुट थियौं । अहिले आ–आफ्ना जातलाई मात्र महत्त्व दिनुपर्छ भन्ने मानसिकता विकसित भएको छ धेरैको ।’

आफू अमेरिकाको मेरिल्यान्ड पुग्दा त्यहाँ जातका आधारमा नेपालीले खोलेका लगभग दुई सयजति संघ देख्दा पो चकित परेका थिए ।

‘पृथ्वीनारायण शाहले एकीकरण गरेको देशमा बसेर उनकै विरोध गर्ने पुर्खा त हौं नै । अहिले त हामीलाई जातीयताले टुक्र्याइसकेको छ ।’

तर आफू भने गाउँमा गीत खोज्न जाँदा नै जसको घरमा पनि खाएको सम्झन्छन्, ‘मान्नेका लागि जातपात थियो होला, हामीले त उहिल्यै छोडिसकेका थियौं । अहिले भने आफ्नै थरमा समेत चार हाँगा निकालिसके जात खोज्नेले ।’
हामी नेपाली भएर बाँच्नुपर्नेमा जातको समूह भएर बाँच्न खोजेकोप्रति उनी दुःख व्यक्त गर्छन् ।

देशले राष्ट्रियता गुमाइसकेको छ
मान्छेले लोकगीत सुन्न छोडिसकेको छ । पहिलेजस्तो गाउँमा गएर गीत खोज्ने चलन अहिले नभएको प्रवृत्ति नभएको बस्नेत बताउँछन् ।

‘होला, अहिले प्रतिस्पर्धा बढी होला तर आजभोलि राम्रा गीत बजारमा आउन छोडिसकेका छन्,’ उनी मिडियाले आफ्ना गीत नबजाएकोप्रति आक्रोश पोख्दै भन्छन्, ‘मिडियाले हाम्रा गीत बजाउनै छोड्यो । सत्तरी प्रतिशत भन्दा बढी त विदेशी गीत बज्छन् नेपालमा ।’

‘त्यतिबेला त कसैले गीत गायो भने पनि स्याबास भनिदिन्थे । अहिले भने एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति बढेको छ । नेपालीले नेपालीको खुट्टा तानेर पनि हुन्छ ?’ उनले लोकान्तरसँग आफ्नो निष्कर्ष सुनाए्, ‘हाम्रो देश विविधताले भरिएको देश हो । तर हामीले के ग¥यौं भने आफू माथि उठ्नका अरूका खुट्टा तान्यौं ।’

उनी भन्छन्, ‘हामी पहाडीलाई भन्दा त मधेसीलाई बढी देशको माया छ । उनीहरू दिनदिनै थिचोमा छन् । हामीले न पहाडीलाई देखिसह्यौं, न मधेसीलाई नेपाली भन्यौं । हामी गलत बाटोमा हिँडिरहेका छौं ।’

र त्यो समय
समय अहिलेको जस्तो कहाँ थियो र ? पहिलेको तुलनामा अहिलेको समय धेरै नै भयानक देख्छन् बस्नेत । विश्वव्यापीकरणको बहानामा हाम्रो संस्कृति त लोप हुन लागेको छ नै । तेस्रो विश्वयुद्ध समेत हुने छाँट देखिएको उनी बताउँछन् ।

‘कहाँ भएको छ ग्लोबलाइजेसन? अमेरिकाले आफ्नो संस्कारलाई विश्वभर पु-यायो भन्दैमा हामीले हाम्रो संस्कार नै भुलिदिने ?’ बस्नेत थप्छन्, ‘विश्व जे भएपनि हामी नेपाली त हौं नि । अहिलेका युवामा धेरै ठूलो समस्या देखिएको छ । हामीले हाम्रो संस्कारलाई गिज्याउन थालेका छौं । हामी नेपाली बन्ने कि नबन्ने? सबैले सोच्नुपर्ने हो ।’

salt training

कमेन्ट गर्नुहोस्