नेपालको सुदूरपश्चिम प्रदेशसँग सीमा जोडिएका भारतीय गाउँमा नेपाली एफएम रेडियोले लिम्पियाधुरासम्मको भूभाग नेपालकै भएको भनी प्रचार गरेको ती गाउँका निवासीले बताएको भनी हिन्दुस्तान टाइम्समा खबर छापिएको छ ।
‘केही नेपाली एफएम च्यानलहरूले हालसालै नेपाली गीत बज्दाबज्दै भारतविरोधी भाषण पनि बजाउने गरेका छन्,’ पिथोरागढको धारचुला सबडिभिजनको दान्तु गाउँकी शालु दतालले बताइन् ।
‘सीमाको दुवैतर्फका मानिसले नेपाली गीत सुन्ने हुँदा गीतहरूको बीचमा नेताहरूले गर्ने भारतविरोधी भाषण पनि सुन्ने गरेका छन्,’ उनले भनिन् ।
नयाँ नेपाल र कालापानी रेडियोले गीत बज्दाबज्दै बीचबीचमा भारतविरोधी सामग्री बजाउने गरेको दतालको भनाइ छ ।
‘मल्लिकार्जुन रेडियो र अन्नपूर्ण अन्लाइन नामक वेबसाइटले कालापानी नेपालकै भूभाग भएको प्रसारण गर्ने गरेका छन्, उनले भनिन् ।
ती एफएम स्टेसनहरू दार्चुलाको सदरमुकाम खलंगा नजिक रहेको चाब्रिगढमा छन् ।
यी स्टेसनहरूको प्रसारण रेन्ज लगभग तीन किलोमिटर छ र तिनलाई भारततर्फ रहेको धारचुला, बालुवाकोट, जौलजिबी र कालिकामा समेत सुन्न सकिन्छ ।
कालापानी, लिपुलेक र लिम्पियाधुराको मौसमको जानकारी समेत ती रेडियो स्टेसनले दिन थालेको धारचुलाका कृष्ण गर्बियालले बताए ।
पिथोरागढ प्रहरी तथा जिल्ला प्रशासनले यसबारेमा अनभिज्ञता प्रकट गरेको छ ।