
प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपालको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्दै आफ्नो संवैधानिक दायित्व निर्वाह गर्न नेपाली सेना सदाझैँ प्रतिवद्ध रहेको बताएका छन्।
जंगी अड्डामा तीन दिनसम्म चलेकाे 'पृतनापति समन्वयात्मक बैठक २०७७' को समापन गर्दै थापाले पद्धति र प्रणालीमा आधारित संगठन निर्माणमा सबैले जिम्मेवार, जवाफदेही, पारदर्शी र उत्तरदायी भएर कार्य गर्नुपर्ने बताए।
व्यक्तिगत स्वार्थभन्दा माथि उठेर साङ्गठानिक हित, कल्याण र राष्ट्रिय स्वार्थ प्राप्तिको लागि अविचलित भएर कर्तव्यपथमा लाग्न उनले निर्देशन दिए।

प्रधानसेनापति थापाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा वातावरण र त्यसले राष्ट्रिय सुरक्षाका विविध पक्षमा पार्ने प्रतिकुल प्रभाव र असरको सुक्ष्म अध्ययन विश्लेषण गर्दै विकसित परिस्थिति सम्बन्धमा स्पष्ट अवधारणा, रणनीति र कार्य योजना निर्माण गर्न समेत निर्देशन दिए।
हरेक वर्ष आयोजना हुने समन्वयात्मक बैठकमा जंगीअड्डास्थित विभिन्न कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा पृतनाहरूले आ-आफ्नो जिम्मेवारी क्षेत्रको कार्य प्रगति विवरण र समिक्षा, कोभिड-१९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रण कार्यमा नेपाली सेनाले निर्वाह गर्दै गरेको भूमिका, राष्ट्रिय सुरक्षा वातावरणको समिक्षा तथा भविष्यमा आउन सक्ने चुनौती र सुझाव लगायत अन्य परिस्थितिजन्य विषयहरु सम्बन्धमा प्रस्तुतिकरण र छलफल भएको थियो ।