भारतले चीनसँगको ३४ सय ८८ किलोमिटर लामो वास्तविक नियन्त्रण रेखामा अग्लो भूभागमा लड्न प्रशिक्षित जवानहरू तैनाथ गरिरहेको छ । ती जवानहरू पश्चिम, मध्य र पूर्वी सेक्टरमा खटिएका हुन् ।
भारतीय सेनालाई सीमा उल्लंघनको कुनै पनि गतिविधिको कठोर जवाफ फर्काउन आदेश दिइएको छ । भारतका यी विशिष्ट जवानलाई विगत केही दशकयता उत्तरी मोर्चामा लड्नका लागि प्रशिक्षित गरिएको थियो ।
चिनियाँ सेनाले सडकको बाटो भएर सैन्य सामग्री सीमामा ल्याइरहेका छन् । भारतीय माउन्टेन जवानहरूको दस्ता अग्लो भूभागमा गुरिल्ला युद्धका लागि तालिम दिइएको छ ।
भारतका एक पूर्व सेनाप्रमुखले बताए, ‘पहाडमा लडाइँ गर्न सबभन्दा कठिन हुन्छ । उत्तराखण्ड, लद्दाख, अरुणाचल र सिक्किममा यी जवानहरूका अघिल्तिर कोही पनि टिक्न सक्दैनन् । आर्टिलरी र मिसाइललाई पहाडी इलाकामा निकै ध्यान दिएर चलाउनुपर्ने हुन्छ नत्र पहाडमा तिनले निशाना चुक्छन् ।’
एक सैन्य विशेषज्ञका अनुसार, चीनतर्फ पर्ने तिब्बतको पठार समतल छन् भने भारतका पहाडहरू दुर्गम छन् । पहाडी क्षेत्रमा कुनै एक भाग कब्जा गर्न गाह्रो हुन्छ अनि त्यसमाथि कब्जा कायम गर्न त्यसभन्दा पनि गाह्रो हुन्छ ।