
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले स्वचालित हतियार (अटोनोमस वेपन्स) प्रणालीलाई तत्काल नियमन गर्न विश्व समुदायलाई आह्वान गरेका छन्।
जेनेभामा मानवअधिकार परिषद्लाई सम्बोधन गर्दै टर्कले कृत्रिम बौद्धिकता (एआई) मा आधारित हतियारको बढ्दो प्रयोगले युद्धको स्वरूप बदलिरहेको र मानवतामाथि गम्भीर खतरा उत्पन्न गरिरहेको बताएका हुन्।
उनले गाजा, युक्रेन, सुडान, कङ्गो, लेबनान र म्यान्मारमा ड्रोनको बढ्दो प्रयोगले ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै स्वचालित हतियारलाई “अपराधका लागि लाइसेन्स” बन्न दिन नहुने चेतावनी दिए।
टर्कका अनुसार सुडानमा मात्र यस वर्ष जनवरीदेखि मेसम्म ड्रोन आक्रमणमा एक हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ। उनले मानव नियन्त्रण र जवाफदेहिता सुनिश्चित गर्न अन्तर्राष्ट्रिय कानुनी संरचना अद्यावधिक गर्नुपर्नेमा जोड दिए।
स्वचालित वा ‘किलर रोबोट’ हतियारको प्रयोग नियमन गर्ने सम्भावित अन्तर्राष्ट्रिय सन्धिबारे एक दशकदेखि छलफल भइरहे पनि हालसम्म सहमति जुट्न सकेको छैन। देशहरूले यस वर्षको अन्त्यसम्म सन्धि वार्ता अघि बढाउने वा नबढाउने विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ।