जिम्बाब्वेमा कोरोनाभाइरसको टेस्ट किट किन्ने विषयमा भ्रष्टाचार भएको भन्दै स्वास्थ्यमन्त्रीलाई पक्राउ गरिएको छ ।
स्वास्थ्यमन्त्री ओबादिआह मोयोले टेस्ट किट र अन्य उपकरण खरिदमा ७२० करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचार गरेको आरोप छ ।
शुक्रवार पक्राउ परेपछि स्वास्थ्यमन्त्री ओबादिआहलाई शनिवार अदालतले जमानत दियो । अनुसन्धानकर्मीहरूले जमानतको विरोध गरेनन् ।
दोषी प्रमाणित भएमा उनलाई १५ वर्षको कारावास सजाय हुन सक्छ ।
स्वास्थ्यमन्त्रीमाथि पदको दुरुपयोग गरेको आरोप पनि छ । रोयटर्स समाचार संस्थाका अनुसार, उनले ड्राक्स इन्टरनेसनल एलएलसी र ड्राक्स कन्सल्ट एसएजीएल कम्पनीहरूसँग गरिएको सम्झौतामा भ्रष्टाचार गरेका हुन् ।
ती कम्पनीहरूसँग स्वास्थ्यमन्त्रीले अवैध सम्झौता गरेको अभियोजकर्ताहरू बताउँछन् । पछि राष्ट्रपतिले ती सम्झौताहरू रद्द गरेका थिए ।
अघिल्लो साता संयुक्त अरब अमिरातको कम्पनी ड्राक्स इन्टरनेसनलका एक स्थानीय प्रतिनिधिलाई पनि पक्राउ गरिएको थियो । तर कम्पनीले भ्रष्टाचारको आरोप अस्वीकार गरेको छ ।