१० असार २०८३, बुधबार

बुटवलको नीति कार्यक्रम : स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षालाई प्राथमिकता

असार ८, २०७७
बुटवलको नीति कार्यक्रम : स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षालाई प्राथमिकता

बुटवल उपमहानगरले नागरिकको जीवन रक्षा नै पहिलो कार्यभार मान्दै स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षालाई प्राथमिकतामा राखेर आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

बृहत् बुटवल, शहरी भौतिक पूर्वाधार, पर्यटन, कृषि र उद्योग–व्यापारलाई समेत उच्च प्राथमिकतामा राख्दै बुटवलको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।

उपमहानगरको सोमवार शुरू नगर सभाको सातौं अधिवेशनमा आव २०७७/०७८ को नीति कार्यक्रम प्रस्तुत गर्दै प्रमुख शिवराज सुवेदीले नागरिकको जीवन रक्षामा ध्यान केन्द्रित गरिएको र स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको उल्लेख गरे ।

‘जीवन रहे समृद्धि पछि पनि हासिल गर्न सकिन्छ भन्ने मान्यताबाट हामी अगाडि बढ्ने प्रयास गरेका छौं, नागरिकको जीवन रक्षा नै आजको पहिलो कार्यभार हो र हाम्रो कर्तव्य पनि त्यही नै हो,’ बुटवलको नीति तथा कार्यक्रममा उल्लेख छ ।

‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा, ‘समृद्ध प्रदेश खुशी जनता’  प्रदेशको आकांक्षाको एकीकृत विकाससँगै ‘सवल आर्थिक केन्द्र समुन्नत बुटवल’मार्फत आधार तयार गरी ‘समृद्ध बुटवल खुशी बुटवलवासी’ बनाउने लक्ष्य प्राप्त गर्ने अभियानमा केन्द्रित रहेको बुटवल उपमहानगरले जनाएको छ ।

आहारबिहार, जीवनशैलीलाई पूर्वीय दर्शन अनुकूल बनाउन, व्यक्तिगत तथा सामुदायिक स्वास्थ्य सरसफाइलाई ध्यान दिन उपमहानगरले आग्रह गरेको छ । महामारीले परम्परागत असल बानी व्यवहारलाई पुनःस्मरण गराएको र स्वनियममा रहँदा कोरोना जस्ता महामारीमा विजय प्राप्त गर्न सकिने कुरा क्रमशः स्थापित हुँदै गएको बुटवलको ठहर छ ।

बृहत् बुटवल र भविष्यको महानगरको रुपमा फराकिलो अवधारणाका साथ छिमेकी पालिकासँग समन्वयात्मक रुपमा विकास प्रक्रिया अघि बढाउन र तदनुरुपका पूर्वाधार तयार गर्न आवश्यक रहेको बुटवलको नीति तथा कार्यक्रममा उल्लेख छ ।

बुटवललाई ५ नम्बर प्रदेशको राजधानी बनाउने आमजनताको आकांक्षा र यथार्थताको पुनः पुष्टि कोभिड १९ को संक्रमण नियन्त्रण र उपचारको सन्दर्भले स्पष्ट पारेको उपमहानगरले जनाएको छ । ‘राजधानीको हैसियत बोकेको बृहत् बुटवलले स्थानीय नागरिकको आकांक्षा सम्बोधन गरेर मात्र पुग्दैन, बरु यस क्षेत्रका समग्र वासिन्दाको समस्या समाधानको नेतृत्व समेत गर्नुपर्ने थप जिम्मेवारीबोध गराएको छ,’ नीति तथा कार्यक्रममा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्