
पाल्पाको तानसेन-हार्थोक सडकखण्डअन्तर्गत सम्माबारीमा पहिरोले ४ सवारी बगाएको छ ।
घटनामा २ जनाको मृत्यु भएको छ भने १ घाइते छन् ।
साँझ साढे ५ बजेतिर पहिरो खस्दा एउटा ट्याङ्कर, बोलेरो जीप, कार र मिनी ट्रक गरी ४ सवारीसाधन बगाएको हो ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले भने, ‘पहिरो जाँदा ४ सवारीसाधन बगाएको हो । कति मानिस हताहत भए भन्नेबारेमा यकिन विवरण आइसकेको छैन । अहिलेसम्म २ जना शव भेटिएको र १ घाइतेको उपचारका लागि अस्पताल लगिएको छ ।’
उनका अनुसार उद्धार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी सहित स्थानीय खटिएका छन् ।
अविरल वर्षापछि सो सडकखण्डमा पहिरो गएको हो । पहिरो गएको क्षेत्र सदरमुकाम तानसेनदेखि करिब ७ किमी पश्चिममा पर्छ ।