०१ असार २०८३, सोमबार

नागरिकता विधेयकलाई लिएर सदनमा मधेशकेन्द्रित दलको आपत्ति– सरकारले आन्दोलनमा धकेलेको हो ?

नागरिकता विधेयकलाई लिएर सदनमा मधेशकेन्द्रित दलको आपत्ति– सरकारले आन्दोलनमा धकेलेको हो ?

मधेशकेन्द्रित दल जनता समाजवादी पार्टी (जसपा)ले प्रतिनिधि सभाको राज्य व्यवस्था समितिबाट पारित नागरिकता विधेयकमा वैवाहिक अंगीकृत नागरिकताका लागि ७ वर्षको समयसीमा राख्ने निर्णयप्रति आपत्ति जनाएका छन् ।

नागरिकतामा समयसीमाको निर्णयले नेपाल–भारत सम्बन्धमा असर पार्ने र मधेशको संस्कृतिमाथि आक्रमण भएको जसपाको दाबी छ । 

मंगलवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा राजपाका महेन्द्र यादवले मधेश आन्दोलन र मधेशी मोर्चासँग भएको सहमति विपरीत अंगीकृत नागरिकतामा ७ वर्षको प्रावधान राखेर सरकारले आफूहरूलाई आन्दोलनमा धकेलेको आरोप लगाए । 

‘कांग्रेस, एमाले र माओवादीले मधेशी मोर्चासँग गरेको सहमति तोड्न लागेको हो ? वैवाहिक अंगीकृतमा ७ वर्षको समय तोकेर आएको छ, गम्भीरता साथ छलफल गरेर निकाश खोज्नुपर्नेमा सरकारले आन्दोलनमा जाऊ भन्न खोजेको हो ?’ यादवले भने, ‘कालापानीमा राष्ट्रिय एकताको भावना व्यक्त गर्‍यौं, अहिले सरकारले अंगीकृत नागरिकताका कारण नेपाल–भारतसँगको सम्बन्ध तोड्न चाहन्छ ?’

यादवले सरकारले मधेशमा द्वन्द्वको स्थिति सिर्जना गरिदिएको आरोप लगाए । ‘नेपालमा पानी दक्षिणतिर बग्छ, अहिले उत्तरतिर बग्न खोजेको छ । सरकार उल्टो गतिमा जान खोज्छ भने सरकारको दिन पनि उल्टो हुन सक्छ । नागरिकता समस्या समाधान गरोस्, नागरिकताको समयसीमाबारे गम्भीर बनोस्,’ यादवले भने । 

समाजवादी पार्टीका प्रदीप यादवले नागरिकता विधेयकमार्फत मधेशमाथि प्रहार भएको बताए । 

‘भारत र नेपाल, मधेश र बिहार यूपीमा नागरिक–नागरिकबीचको वैवाहिक सम्बन्ध यो कुनै सरकारले बनाएको होइन । प्राचीनकालको सम्बन्ध हो । युगौंदेखिको सम्बन्धमाथि ठूलो प्रहार भएको छ,’ यादवले भने, ‘जुन प्रकारले मधेशीमाथि टार्गेट गरेर नेकपा सरकारले वार गरिरहेको छ, मधेशको जग्गा–जमिन नेपालको मधेशमा बस्ने नागरिक भारतीय जस्तो गरेको छ । हामी रहेपनि नरहेपनि मधेशको मुद्दा रहिरहन्छ ।’

यादवले राज्य व्यवस्था समिति र नेकपालाई निर्णय पुनर्विचार गर्न माग गर्दै अन्यथा आफूहरू आन्दोलनमा जान बाध्य रहेको बताए । 

‘विधेयक मधेशविरोधी छ, मधेशको संस्कृतिमाथि प्रहार भएको छ । मधेशमा शोषण अत्याचार गर्न षड्यन्त्र गरेको छ, यो सच्चिएन भने सडकमा आन्दोलन गर्न बाध्य हुन्छौं,’ यादवले भने । 
 

salt training

कमेन्ट गर्नुहोस्