
दक्षिण कोरियाली अभियन्ताहरूले प्योङयाङविरोधी पर्चा राखिएका बलून सीमापारि उत्तर कोरियामा पठाएको बताएका छन् । दुई देशबीचको तनावलाई यस घटनाले थप चर्काउने देखिएको छ ।
उत्तरले यी बलूनहरूका विषयमा आक्रोश पोखेको छ र दक्षिणले अभियन्ताहरूलाई रोक्न खोजेको छ ।
सन् २०१८ मा सम्बन्धमा न्यानोपन आएदेखि दुई देशबीच वार्ता गरिरहेका छन् ।
तर विगत एक हप्तादेखि सम्बन्ध द्रुत गतिमा बिग्रिरहेको छ ।
उत्तरले शुक्रवार अन्तर्कोरियाली सम्पर्क कार्यालय भवन बमले उडाएको थियो । दुई वर्षअघि दुई देशबीच नियमित संवादका लागि उक्त कार्यालय खुलेको थियो ।
बुधवार कोरियाली युद्धको आरम्भको वार्षिकी हो । प्योङयाङले आफ्नो बार्गेनिङ पावर बढाउन र नयाँ वार्ताका लागि बाध्य बनाउन जानाजान तनाव बढाइरहेको विश्लेषकहरूको कथन छ ।
दक्षिण कोरियाबाट उत्तरविरोधी पर्चा बलूनमा राखेर पहिलेदेखि नै पठाउने गरिएको थियो । उत्तरले त्यसरी पर्चा पठाउनेहरूलाई तल्लो स्तरमा मान्छे भनी आलोचना गरेको छ ।
अनि उसले दक्षिणमा पठाउन प्रोपागान्डा सामग्रीहरू तयार गरिरहेको छ । सरकारी सञ्चारमाध्यमका अनुसार, प्योङयाङको महानताको बखान गर्दै उसले १ करोड २० लाखवटा पर्चा पठाउने तयारी गरेको छ ।
यसका साथै उत्तर कोरियाले आफ्नो सीमाक्षेत्रमा स्पीकरहरू पनि राख्न थालेको छ ।
पहिले पनि उसले त्यस्ता किसिमका स्पीकरहरू राखेर प्रोपागान्डा सन्देशहरू चर्को स्वरमा बजाउने गरेको थियो । सन् २०१८ मा पानमुनजोम घोषणापछि तिनलाई हटाइएको थियो । त्यतिखेर दुवै पक्षले स्पीकरहरू र सीमापारि प्रोपागान्डाका अन्य प्रारूप अन्त्य गर्ने सहमति जनाएका थिए ।