१७ असार २०८३, बुधबार

कोरोना निको भएको पुष्टि गरेर मात्रै अस्पतालबाट डिस्चार्ज, पीसीआर 'नेगेटिभ' अनिवार्य

असार ९, २०७७
कोरोना निको भएको पुष्टि गरेर मात्रै अस्पतालबाट डिस्चार्ज, पीसीआर 'नेगेटिभ' अनिवार्य

बागलुङबाट ११ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

आइसोलेसनमा १४ दिनसम्म बसेका संक्रमितको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि मंगलवार डिस्चार्ज गरिएको धौलागिरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले जानकारी दिए । 

धौलागिरी क्याम्पसमा निर्मित आइसोलेसन वार्डमा उपचार गराइरहेका ६८ जना कोरोना संक्रमितमध्ये ११ जनालाई डिस्चार्ज गरिएको छ । उनीहरू सबै पुरुष हुन् ।

डिस्चार्ज हुनेमा गल्कोट नगरपालिकाका २३ वर्षीय १ जना, निसीखोला गाउँपालिका २९ र २२ वर्षीय २ जना, ताराखोला गाउँपालिका ३९ वर्षीय १ जना, बडीगाड गाउँपालिका २५, २५, ३९, ३२ र २२ वर्षीय ५ जना, बरेंङ गाउँपालिका १८ र २३ वर्षीय २ जना गरी ११ जना पुरुष छन् ।

डा. पोखरेलले भने, ‘डिस्चार्ज हुनेहरूको दोस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएकाले आज डिस्चार्ज गरिएको छ । उहाँहरूलाई कम्तीमा ७ दिन घरमा गएर पनि क्वारेन्टाइन बस्न भनिएको छ ।’ 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसोलेनमा वा क्वारेन्टीनमा रहेका बिरामीमा कोरोनाको कुनै लक्षण नदेखिए डिस्चार्ज गर्न सकिने निर्देशिका जारी गरे पनि गण्डकीले हरेक बिरामीको पीसीआरपछि मात्र डिस्चार्ज गर्ने गरेको छ । 

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले जारी गरेको निर्देशिकाअनुसार नै जेठ २० गते स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि देशभरका कोरोना अस्पताललाई सो निर्देशन दिएको थियो तर कार्यसञ्चालन केन्द्रले जेठ २२ गते अर्को निर्देशिका जारी गर्दै आरडीटी परीक्षणमा पोजिटिभ देखिएकालाई मात्र १४ दिन क्वारेन्टीनमा बसेपछि परीक्षण विना नै घर पठाउन भनिएको छ । अस्पतालमा उपचाररत नभई क्वारेन्टीनमा बसेकालाई मात्रै पठाउने गरी निर्देशिका सच्याइएको छ ।

धौलागिरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. पोखरेलले भने, ‘विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को मापदण्ड अनुसार मन्त्रालयले त्यसो भने पनि गण्डकी सरकारले पीसीआर गरेर पठाउने भनेपछि हामीहरूले पीसीआर गरेर मात्रै पठाउने गरेका छौं । यसो हुँदा बिरामीलाई पनि ढुक्क हुने र समुदायमा पनि सम्भावित त्रास हुँदैन ।’ उनले पीसीआर चेक गर्ने वा नगर्ने भन्नेबारे समेत द्विविधा रहेको पनि दाबी गरे । 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले पीसीआर पुनः गर्दा संक्रमितको समेत मनोबल बढ्ने र उनीहरू समुदायमा जाँदा जनतामा सुरक्षाको प्रत्याभूति हुने भएकोले पीसीआर नेगेटिभपछि मात्र डिस्चार्ज गर्ने गरिएको बताए ।

‘हामीहरूले अहिलेको अवस्थामा बिरामीलाई व्यवस्थापन गर्न सकिरहेका छौं । भोलिको दिनमा चाप बढी भयो भने लक्षण नदेखिए घर पठाउन पनि सकिन्छ,’ उनले भने ।
  
गण्डकी प्रदेशमा हालसम्म ५५ जना कोरोना संक्रमित निको भएका छन् भने १ जनाको मृत्यु भएको छ । ४६४ जना आइसोलेन वार्डमा छन् । 

बागलुङमा मात्रै हालसम्म २३ जना डिस्चार्ज भएका छन् । त्यहाँ अझै ५७ जनाको उपचार भइरहेकोमा मंगलवार ८ जना थपिने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्