
जिल्ला प्रहरी कार्यालय तनहुँले १ वर्षको अवधिमा १३ फरार प्रतिवादी पक्राउ गरेको छ ।
चालू आर्थिक वर्ष ०७६/७६ को जेठ मसान्तसम्म प्रहरीले अदालतबाट फैसला भई फरार रहेका १३ अभियुक्तलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूबाट १४ वर्ष ४ महिना ४ दिन कैद र ३ लाख ६ हजार ८०२ रुपैयाँ जरिवाना असुल उपर गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता युवराज तिमिल्सिनाले जानकारी दिए ।
जघन्य अपराधतर्फ कर्तव्य ज्यानका ३, जबरजस्ती करणीका ११ व्यक्तिलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको छ ।
मुलुकी अपराध सहिंता २०७४ बमोजिम अनुसन्धान अधिकारीले धरौटी लिई छाड्न सक्ने कानूनको कार्यान्वयन गर्दै लागूऔषध, हातहतियार तथा खरखजाना र झूटा विवरण पेश गरी दोहोरो नागरिकता लिने अभियोगमा पक्राउ परेका ४ वटा मुद्दाको ५ व्यक्तिबाट धरौटी लिई प्रहरी कार्यालयमा खातामा जम्मा गराई हाजिरी जमानीमा छाडिएको प्रहरीले जनाएको छ ।
अवैध चोरी निकासीमा संलग्न ७२ वटा सवारी साधनलाई कानूनी दायरामा ल्याई सम्बन्धित निकायमा दाखिला गरी ८ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ । प्रहरीले यस अवधिमा २२२ थान मुद्दा फर्छ्यौट गरेको छ । जेठ मसान्तसम्म ३६५ थान मुद्दा दर्ता भएकामा २२२ मुद्दा फछ्र्यौट भएको छ भने १४३ थान मुद्दा फछ्र्यौट हुन बाँकी रहेको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले बताए ।