
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आलोपालो सहमति छोडेर आफू पछुताएको महसूस भएको बताएका छन्
बुधवारदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरू भएको नेकपा स्थायी कमिटी बैठकमा मन्तव्य राख्दै प्रचण्डले पार्टी एकीकरण हुनुभन्दा अघिल्लो दिन २०७५ जेठ २ गते भएको आलोपालो प्रधानमन्त्री चलाउने सहमति छोडेर आफूले गल्ती गरेको घुमाउरो भाषामा बताएका हुन् ।
उनले जेठ २ गतेको सहमतिको नाम भने लिएनन् ।
'विगतमा गरेका सहमति र समझदारी छाड्नु गल्ती गरेछु कि भन्ने महसूस गरेको छु,' अध्यक्ष प्रचण्डको भनाई उदृत गर्दै एक स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने, 'सरकारको कामबाट जनता खुसी छैनन्, यो अवस्था आउनुमा कहीँ न कहीँ विगतमा गरिएका सहमतिको कार्यान्वयन नहुनु हो कि भन्ने मलाई लागेको छ ।'
बैठकमा अध्यक्ष प्रचण्डले पार्टीभित्र कम्युनिस्ट आन्दोलनको आदर्श पुनःस्थापित गरेर जानुपर्ने बताएका थिए ।
'हामीबाट कमीकमजोरी भएका छन्, हाम्रो आदर्शमाथि प्रश्नचिन्ह उठेको छ,' प्रचण्डको भनाइ उदृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, 'कमी कमजोरीको समीक्षासहित नयाँ ढंगबाट अघि बढ्नुपर्छ ।'
प्रचण्डले पार्टी कमजोर हुनुमा बाहिरी मात्र नभएर आन्तरिक तत्व पनि जिम्मेवार रहेको बताए ।
'बाहिरियाहरूले त हामीलाई कमजोर बनाउन खोजेकै छन् तर पार्टी कमजोर हुनुमा हामी पनि आन्तरिक रूपमा जिम्मेवार छौं,' प्रचण्डले भने ।
प्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टीलाई एकलौटी ढंगले चलाउन खोजेको भन्दै प्रचण्ड असन्तुष्ट छन् ।
उनले पार्टी एकताताका र त्यसपछि गरिएका समझदारीहरू कार्यान्वयन हुनुपर्ने कुरा समेत बैठकमा उठाएका थिए ।