
गण्डकी प्रदेशमा थप १३ जना कोरोना संक्रमित भेटिएका छन्। योसहित प्रदेशमा कुल संक्रमित संख्या ७ सय ४२ पुगेको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा प्रदेशका कास्की, गोरखा र स्याङ्जा जिल्लामा गरी १३ नयाँ संक्रमित भेटिएको प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार साँझ विज्ञप्ति जारी गरी पुष्टि गरेको हो।
जसअनुसार कास्कीको पोखराका ४ जना पुरुषहरूमा संक्रमित देखिएका छन् । उनीहरुको उमेर समूह २०, २३, ३० र ३६ वर्षको छ ।
यस्तै, गोरखाको गण्डकी गाउँपालिकाका वर्ष १५ र ७७ वर्षका गरी २ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । कास्की र गोरखामा भेटिएका संक्रमितहरुको परीक्षण पोखरामा भएको हो।
काठमाडौंमा भएको परीक्षणमा स्याङ्जाका १ महिला सहित ७ जनामा कोरोना पुष्टि भएको छ। गल्याङ नगरपालिकाका ४२ वर्षीया महिला कोरोना संक्रमित भएकी छन्।
यस्तै, गल्याङकै वर्ष २४ का २ जना पुरुषसहित वर्ष २१, २८, २९ र ३१ का पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।
गण्डकीमा बुधबार बिहानमात्रै ३२ जना नयाँ संक्रमित फेला परेका थिए भने मंगलबार १ सय ४ जनामा कोरोना पुष्टि भएको थियो ।
स्याङ्जा जिल्लाका नयाँ संक्रमितलाई आइसोलेसनमा राखिएको छ भने अन्य जिल्लाका व्यक्तिहरुलाई सम्बन्धित जिल्लाको आइसोलेन वार्डमा लैजाने तयारी भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जनाए ।