
अखिल नेपाल किसान महासंघले किसानले बैंक, लघुवित्त, सहकारी तथा समूहबाट लिएकाे ऋणकाे लकडाउन अवधिकाे व्याज मिनाहा गरिदिन सरकारसँग माग गरेकाे छ।
नेपालमा काेराेना भाइरस संक्रमण राेकथामका लागि भन्दै गत चैत ११ गतेदेखि लागू भएकाे लकडाउन असार १ देखि खुकुलाे भएकाे छ। तर लकडाउन हटिसकेकाे छैन।
याे अवस्थामा किसानले लिएको ऋणको साँवा–ब्याज र लकडाउन अवधिको सम्पूर्ण किस्ता असारमा एकमुष्ठ भुक्तान गर्न वित्तीय संस्थाहरुले ताकेता गरिरहेका छन्।
महासंघका संयाेजक हरि पराजुली र सहसंयाेजक चित्रबहादुर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा 'लकडाउन अवधिको किसानको सम्पूर्ण ऋणको व्याज मिनाहा र ऋणको पुनर्तालिकीकरण गरी लकडाउन खुलेपछि सोही अनुसार किस्ता भुक्तान गर्ने व्यवस्था मिलाउन' माग गरिएकाे छ।
त्यसैगरी महासंघले धान रोपाइँको समयमा आवश्यक मल तथा बिउको अभाव देखिएको र देशका विभिन्न भागमा मकै र अन्य बालीमा अमेरिकी फौजी कीराको आक्रमणले समस्याग्रस्त बनाएको भन्दै अविलम्ब मल, बिउ र फौजी कीराको समस्या समाधान गर्न पनि माग गरेकाे छ।
महासंघले लकडाउन अवधिमा किसानहरुको उत्पादन र बजारमा पुगेको अवरोधबाट भएको नोक्सानीका लागि राहत तथा पुनः उत्पादनका लागि सहज वातावरण तयार गर्न विशेष राहत प्याकेज घोषणा गर्न, कृषिको प्राथमिक उत्पादनमा समेत प्रत्यक्ष विदेशी लगानी (एफडीआई) र नेपाली कृषिमा विभिन्न शक्ति राष्ट्रहरुका बहुराष्ट्रिय निगमहरूका लागि ढोका खोल्न गरिरहेको तयारी अविलम्ब राेक्न पनि माग गरेकाे छ।