
मोरक्कोका एक किसानले घरपालुवा बाख्रोसँग रमाइलो कुराकानी गरेको भिडियो सार्वजनिक गरेका छन् । आफूहरूबीचको संवादको आफ्नै तौरतरिका रहेको उनी बताउँछन् ।
ओमार मुर्सो नामक ती किसानले सात महिनाको बाख्रो लिनोसँगको संवाद भिडियो रेकर्ड गरेका हुन् ।
ओमारले भिडियोमा अनौठो आवाज निकालेको र बाख्रोले बुझेर त्यस्तै जवाफ फर्काएको सुनिन्छ ।
मुर्सोले भने, ‘लिनो मैले पालेकोमध्ये सबभन्दा बाठो बाख्रो हो । धेरै मानिस उसको बुद्धिमत्ताबाट प्रभावित छन् । हामीबीच एक किसिमको सम्बन्ध छ र संवाद गर्ने आफ्नै तरिका छ ।’
अनुसन्धाताहरूले बाख्राहरू बुद्धिमान् र जिज्ञासु हुने र तिनको स्मरणशक्ति राम्रो हुने बताएका थिए ।
तिनीहरूले कुकुर वा घोडा जस्तै गरी मानिससँग भावनात्मक सम्बन्ध राख्ने बताइएको छ ।
बाख्राहरू आफ्ना मालिकलाई घुरेर हेर्दै संवाद गर्न सक्छन् ।
उदाहरणका लागि, उनीहरूको पहुँचबाट खानेकुरा टाढा हुनाले बाख्राहरू एउटै कोठामा रहेका खानेकुरा र मानिसलाई घरिघरि हेरिरहन्छन्, लन्डनको क्वीन मेरी विश्वविद्यालयका बायोलोजिस्टहरूले पत्ता लगाएका छन् ।
कुकुरले पनि यस्तै व्यवहार देखाउँछन् ।