०१ असार २०८३, सोमबार

प्रयोगशालाका प्राविधिक : खानपान र आहारा घटाएर कोरोनाविरुद्ध देशलाई सहारा

असार १३, २०७७
प्रयोगशालाका प्राविधिक : खानपान र आहारा घटाएर कोरोनाविरुद्ध देशलाई सहारा

५ नम्बर प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) तीब्र रुपमा फैलिन थालेपछि दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत ल्याब टेक्नोलोजिस्ट पद्यनाथ घिमिरेलाई रुपन्देहीको भैरहवास्थित जनस्वास्थ्य प्रयोगशालामा खटाइयो । 

गत जेठ पहिलो हप्ता काज सरुवा भएर रुपन्देही आएपछि घिमिरेलाई कोभिड प्रयोगशालामा एकछिन पनि फुर्सद छैन । कोरोना संकटका बेला पाएको ल्याब इन्चार्जको जिम्मेवारी ३६ वर्षीय घिमिरेलाई अवसर र चुनौती दुवै बन्यो ।

उनलाई कोरोना जाँचका लागि विभिन्न जिल्लाबाट आएका स्वाब (र्‍याल र खकार) को पीसीआर परीक्षण गरी रिपोर्ट दिन भ्याइँनभ्याइँ छ । ल्याबमा खटिनुपर्दा न उनले प्रशस्त खाना खान पाएका छन्, न त तराईको चर्काे गर्मीमा शरीरले मागेको पानी पिउन नै । 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका इन्चार्ज समेत रहेका घिमिरे भन्छन्, ‘व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) लगाएर प्रयोगशालामा छिरेपछि पिसाब फेर्न पनि पाइँदैन, दिसा बस्न पनि पाइँदैन । त्यसैले ६–७ घण्टा निस्कन मिल्दैन । प्रयोगशालाभित्र छिर्नुअघि खाना/पानी कन्ट्रोल गर्नुपर्ने अवस्था छ ।’

पीपीई सेट लगाएर लामो समय काम गर्न निकै गाह्रो हुने गरेको छ । भैरहवा प्रयोगशालामा वैशाख २३ गतेदेखि कोरोना जाँच शुरू गरेको हो । खुशीका साथ उनी भन्छन्, ‘यहीँ क्षेत्र रोजेर सेवामा प्रवेश गरेपछि जस्तोसुकै अप्ठ्यारोमा पनि काम गर्नुपर्ने हाम्रो कर्तव्य र दायित्व हो ।’

उनीसहित प्रयोगशालामा कार्यरत ९ जना प्रयोगशालाकर्मीले शरीरले मागेजति खाना र पानी खान मिल्दैन । उनी थप्छन्, ‘भोकभोकै काम गर्न पनि हामी तयार हुन्छौं/छौं ।’ उनीजस्तै धेरै प्रयोगशालाकर्मी अहिले काममा खटिएर कोरोना जाँचमा जुटेका छन् । धेरै स्वास्थ्यकर्मीलाई यसअघि पीपीई प्रयोगको अनुभव समेत थिएन ।

ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–९ मा जन्मिएका घिमिरे ३ वर्षदेखि दाङमा कार्यरत थिए । आजभोलि प्रदेशको प्रयोगशालामा स्वाबको चाप अत्याधिक छ । प्रयोगशालामा स्वास्थ्यकर्मीहरू आलोपालो काम गर्छन् । एउटा टोली बिहान सामान्य नास्ता गरेर ७ बजे प्रयोगशालामा छिर्छ । बिहान प्रयोगशाला छिरेको टोली ३ बजे बाहिर निस्किन्छ । ३ बजे अर्को टीम प्रयोगशाला छिरेर राति ११ बजे बाहिर निस्किन्छ । 

प्रयोगशालामा आइपुगेका स्वाबलाई पहिलो चरणमा ‘एक्ट्रक्सन प्रोसेस’ गर्नुपर्छ । यो प्रोसेस एक पटकमा १२० वटा स्वाबका नमूना गर्न सकिन्छ । कोरोना जाँचको प्रक्रिया लामो र झन्झटिलो रहेको प्रयोगशालाकर्मी बताउँछन् ।

‘त्यो प्रोसेस गर्न कम्तीमा ७ घण्टासम्म लाग्छ । त्यसपछिको प्रोसेसमा एट्रयाक्सन गरी भाइरसबाट आरएनए निकालिन्छ । यो काम सबैभन्दा बढी ‘रिक्स’ (जोखिम) हुन्छ । त्यसका लागि अनिवार्य पीपीई लगाउनुपर्छ,’ घिमिरे भन्छन्, ‘त्यसपछिको प्रक्रियामा मास्क, बूट र गाउनले पनि काम गर्न सकिन्छ । बल्ल पीसीआर मशिनमा नमूना पठाइन्छ । स्वाबको पहिलो प्रक्रिया ७ घण्टा, दोस्रो ३ घण्टा र अन्तिममा पीसीआर मशिनको प्रक्रिया डेढ घण्टामा हुन्छ । १ पटकमा ९६ जनाको रिजल्ट निकाल्न सकिन्छ ।’

स्वाब संकलन राम्रोसँग नभए गलत नतिजा आउन सक्ने तथा मुखबाट लिएको स्वाबको विश्वसनीयता ३३ प्रतिशत र नाकबाट लिइएको स्वाबको विश्वसनीयता ६७ प्रतिशत हुने घिमिरेले बताए । देशका विभिन्न ठाउँमा रिपोर्ट ‘नेगेटिभ’ आएर घर गएकाहरूको मृत्यु भएपछि पुनः परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको छ ।

‘केही भीटीएममा स्वाब संकलन गरिएका व्यक्तिको स्पष्ट नाम नलेखिँदा स्वाब छुट्याउन समेत गाह्रो हुने गर्छ,’ घिमिरेले भने । उनीसहित अन्य प्राविधिकलाई बिदा समेत दिइएको छैन । अन्य प्रयोगशालामा काम गर्नेहरू १४ दिन काम गरेपछि क्वारेन्टीनमा जान्छन् तर यहाँ स्वाबको चाप बढी र जनशक्ति कम हुँदा घिमिरेसहित अन्यले बिदा पाएका छैनन् ।

‘ड्युटी सकिए पनि हामीले क्वारेन्टीनमा बस्नुपर्ने भए पनि जान समेत पाउँदैनौं । अग्रपंक्तिमा खटेर काम गर्नेको कठिनाइ राज्यले बुझ्नुपर्छ,’ उनले भने । प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मीलाई हालसम्म कोरोना संक्रमण देखिएको छैन ।

जाँच गरिसकिएको स्वाबको नमूना र प्रयोगशालाकर्मीले प्रयोग गर्ने पीपीई बाफको माध्यमबाट भाइरसलाई नष्ट गरेपछि जलाइने घिमिरे बताउँछन् । प्रदेशमा वैशाख १९ गते रुपन्देही र बाँकेका २ जनामा कोरोना भाइरस देखिएको थियो । हालसम्म प्रयोगशालाबाट ६ हजार ४६२ स्वाब जाँच भइसकेको छ । त्यसमध्ये १ हजार ६२ रिपोर्ट पोजेटिभ आएका छन् । प्रयोशालाबाट दैनिक १०० सम्म स्वाब जाँच हुने घिमिरेले बताए । प्रयोगशालामा २ वटा पीसीआर मशिन सञ्चालनमा छन् । अब परीक्षणको दायर बढ्ने जनाइएको छ ।

उनीसहित प्रयोगशालामा काम गर्ने प्रयोगशालाकर्मीले काम गर्ने भान्से नपाउँदा शुरूमा आफैं खाना पकाएर समेत खानुपर्ने अवस्था थियो । अहिले भने त्यो अवस्था हटेको छ । प्रयोगशालामा साँघुरो कोठामा दुःखका साथ व्यवस्थापन गरेर प्रयोगशालाकर्मी बसेका छन् ।

घिमिरेले २०६३ सालमा नारायणी उपक्षेत्रीय अस्पतालबाट सेवा शुरू गरेका हुन् । उनले लकडाउनपछि परिवारसँग भेटघाट गर्न समेत पाएका छैनन् । शुरूको चरणमा कोरोना भाइरसको संक्रमण तीब्र हुँदा आफू सरुवा भएर कोरोना जाँच गर्ने प्रयोगशालामा आएको समेत उनले घर परिवारलाई भनेनन् । ‘परिवारलाई अझै पनि डर छ, छोरो जोखिमपूर्ण काममा लागेको भनेर । अहिले त मैले बुझाएको छु । सुरक्षाका उपकरण प्रयोग गरेर काम गर्दा संक्रमणबाट जोगिन सकिन्छ भनेर । यस्तो बेलामा हाम्रो जिम्मेवारी बढी हुन्छ भनेपछि आजभोलि बुझ्नुहुन्छ ।’

‘घरमा ४ वर्षको छोराले बाबा कहिले आउनुहुन्छ भनेर सोध्दा बच्चालाई उत्तर दिन अप्ठ्यारो भएको परिवारबाट सुनाउँछन् । भिडियो कल गर्छु तर अप्ठ्यारो परिस्थितिमा आफूले निर्वाह गर्नुपर्ने दायित्व कुनै पनि स्वास्थ्यकर्मीले भुल्न हुँदैन,’ उनले भने । उनकी पत्नी पनि स्वास्थ्य क्षेत्रमा कार्यरत भएकाले परिवारमा महामारीको विषयमा बुझाउन केही भए पनि सहज भएको घिमिरेले बताए ।

कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भइरहेको समयमा परीक्षणलाई सहज, गुणस्तरीय र प्रभावकारी बनाउनका लागि सातै प्रदेशका स्वास्थ्य प्रयोगशालाकर्मीलाई प्रशिक्षण दिइएको थियो । ५ नम्बर प्रदेशमा ३ ठाउँबाट कोरोनाको जाँच भइरहेको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको पीसीआर मशिनबाट पनि केही दिनभित्र जाँच गर्ने प्रक्रियामा रहेको छ । जोखिमपूर्ण काममा खटिएका स्वास्थ्यकर्मीलाई शतप्रतिशत जोखिम भत्ता उपलब्ध गराउने सरकारी निर्णय भनिए पनि हालसम्म दिइएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्