२२ असार २०८३, सोमबार

लकडाउनमा नियमित खोप सेवा सञ्चालन

असार १३, २०७७
लकडाउनमा नियमित खोप सेवा सञ्चालन
प्रतिकात्मक तस्वीर

स्वास्थ्य तथा जनसंख्या मन्त्राालयले बन्दाबन्दी (लकडाउन) मा पनि नियमित खोप सेवा सञ्चालन गरेको छ ।

मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को कारणले केही संक्रमण बढी देखिएको स्थानमा बाहेक अन्य ठाउँमा नियमित खोप सेवा सञ्चालन गरेको छ ।

स्वास्थ्य सेवा विभागको वालस्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. झलक शर्मा गौतमले नियमित खोप सेवा अन्तर्गतका सबै खोप सञ्चालन गर्न नसकेपनि ३५ प्रतिशत खोप मात्र सञ्चालन गरिएको  बताए । उनले संक्रमित बढी देखिएका स्थानीय तहबाहेक अन्य ठाउँमा नियमित अन्तर्गतका खोप सेवा दिइएको बताए ।

‘हामीले नियमित खोप दिन नसके पनि केही बालबालिकालाई खोप दियौं,’ उनले भने, ‘मन्त्रालयले वैशाख १० गते खोप रोक्नु हँुदैन भनेपछि नियमित खोप सञ्चालन गर्‍यौं ।’ संक्रमण बढ्दै गएपछि चैत २१ गते मन्त्रालयले नियमित खोप सेवा रोकेको थियो । नियमित खोप नदिँदा बालबालिकालाई प्रभाव पर्ने भन्दै मन्त्रालयले खोप सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । 

बर्सेनि जन्मेदेखि १५ महिनासम्मका ६ लाख २० हजार बालबालिकालाई सरकारले निःशुल्करुपमा बीसीजी, डीपीटी, पोलियो, दादुरा, रुवेला लगायतका १२ प्रकारका खोप सेवा दिँदै आएको छ । ती खोप सेवा १६ हजार खोप सेवा केन्द्रबाट करीब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाले दिने गर्दछन् । यसैगरी विभागले खोप सेवासँगै सरसफाई प्रवद्र्धन कार्यक्रम गर्ने भएको छ । 

आगामी आर्थिक वर्षदेखि खोप लगाउन आउने आमालाई सरसफाई कसरी गर्ने भन्ने सिकाइने शाखाका प्रमुख डा. गौतमले बताए ।

नियमित खोप सेवा बच्चालाई लिन आएको बेला खोप केन्द्रमा नै बालबालिकाका आमालाई सरसफाई प्रवद्र्धन सिकाइने छ । कार्यक्रम अन्तर्गत हात धुने, स्तनपान, खानेकुरा खुवाउने, दिसापिसावजस्ता काम कसरी गर्ने भन्ने आमालाई सिकाइने छ । यसरी सरसफाईमा र वातावरणीय सरसफाईमा ध्यान दिँदा बालबालिकालाई झाडापाखाला र अन्य रोग कम लाग्ने गर्दछन् ।

‘जन्मदेखि १५ महिनासम्म १ जना बच्चाको लागि खोप सेवा लिन आमा कम्तिमा ७ पटक आउने गर्दछन्,’ उनले भने, ‘त्यही बेला जति पटक खोप सेवा लिन बच्चालाई आउँछन्, त्यति नै पटक सरसफाई प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्नेछौं ।’

salt training

कमेन्ट गर्नुहोस्