काठमाडौँ, १६ वैशाख – नेकपा एमालेको स्थायी कमिटीको आजको बैठकले व्यवस्थापिका–संसद्मा सरकारका तर्फबाट प्रस्तुत संविधान संशोधन विधेयकलाई फिर्ता गरी राजनीतिक सहमति निर्माण गर्न र घोषित निर्वाचन सम्पन्न गर्ने दिशातर्फ अघि बढ्न सरकारको ध्यानाकर्षण गराएको छ । संशोधन प्रस्तावमाथि सैदान्तिक छलफल समेत जारी रहेको अवस्थामा आएर एमालेले संशोधन प्रस्ताव फिर्ता लिन आग्रह गरेको हो ।

“बैठकले सम्पूर्ण प्रयत्नका साथ उक्त विधेयकलाई असफल पार्न राजनीतिक दलहरुसँग संवाद र परामर्श गर्दै अघि बढ्ने निर्णय गरेको छ,” पार्टीका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने ।
पार्टी केन्द्रीय कार्यालय, धूम्रबाराहीमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकले स्थानीय तहको घोषित निर्वाचनलाई नै अन्योल र अनिश्चिततातिर धकेल्न विभिन्न पक्षबाट षड्यन्त्र भएको आरोप लगाउँदै त्यसलाई असफल पार्दै घोषित मिति २०७४ वैशाख ३१ मा नै निर्वाचन सम्पन्न गर्न ध्यानाकर्षण गराएको बताए ।