२९ असार २०८३, सोमबार

'यो भैंसीगोठालो हो, प्रधानमन्त्री हुन योग्य छैन भन्छन्' - ओली

'यो भैंसीगोठालो हो, प्रधानमन्त्री हुन योग्य छैन भन्छन्' - ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रको सिधै विरोध गर्न नसकेर आफूले लगाएको जुत्ताको विरोध भइरहेको बताएका छन् ।

स्वर्गीय मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा बालुवाटारमा सम्बोधन गर्दै ओलीले केही बुद्धिजीवीले आफूलाई प्रधानमन्त्री हुन योग्य नरहेको भन्दै टिप्पणी गर्ने गरेकोमा आपत्ति जनाएका हुन् ।

'गणतन्त्रको विरोध सोझै गर्न सक्दैनन्, कहिले राष्ट्रपतिको साडीमा विरोध गर्छन्, कहिले कार्पेटको चर्चा गर्छन् र विरोध गर्छन् । मैले खुट्टामा जुत्ता लगाएको छ । कोहीलाई असाध्यै पीर परेको छ । यो मान्छे त गाई भैसी चराउने गोठालो हो भनेर भनेका छन् । यो प्रधानमन्त्री हुने लायक मान्छे नै होइन भन्ने गरेका छन्,' उनले भने ।

उनले आफू प्रधानमन्त्री भएकोमा कतिपयलाई पीर परेको टिप्पणी गरे । 'पीर परेको छ उनीहरूलाई शासक बने कि भनेर,' उनले बहने, 'म शासक हुन जन्मेको होइन । म शासकको परिकल्पना गरिन । यस देशको सेवा जेलमा हुँदा पनि गरिरहेको थिएँ भन्ने हेक्का हुन्थ्यो मलाई ।'

उनले पटक पटक थुप्रै बुद्धिजीवीले आफूलाई चप्पल लगाएर हिड्ने मान्छे प्रधानमन्त्री हुन नसक्ने भन्दै  टेलिभिजन कार्यक्रममा भन्ने गरेको आरोप लगाए । 'भूमिगत हुँदा चप्पलमा हिंडथ्यो, अहिले जुत्ता लगाएर हिंड्छ भनेर भन्छन्,' उनले भने ।

उनी यतिमै रोकिएनन् । 'हेर्दाहेर्दै सांसद भयो मन्त्री भयो, यो सुहाउने कुरा हो ? एउटा गाउँको झुत्रेझात्रे भैंसी गोठालो प्रधानमन्त्री हुने हो र ?' उनले थपे ।

प्रधानमन्त्री ओलीले आफूले बोलेको कुरा नबुझ्नेले मदन भण्डारी बोलेको त बुझ्ने कुरै नहुने टिप्पणी गरे । उनले भने, 'म बोल्दा बिम्ब प्रयोग गर्छु । उखान टुक्का भन्यो भनेर कराउँछन् । उखान के हो, बिम्ब के हो ? हाम्रो भाषिक र साहित्यिक परम्परा कस्तो छ ? त्यो कसैले विचार गर्दैन र मलाई उखान भन्यो भन्दै हिंड्छन् ।'

salt training

कमेन्ट गर्नुहोस्