१० साउन २०८३, आइतबार

गण्डकीबाट ४९ डिस्चार्ज, निको हुने दर बढ्दै

असार १४, २०७७
गण्डकीबाट ४९ डिस्चार्ज, निको हुने दर बढ्दै

गण्डकी प्रदेशमा आइतबार ४९ जना कोरोना संक्रमित निको भइ डिस्चार्ज भएका छन्। तीमध्ये ६ जना महिला र ४३ पुरुष छन्। 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशअन्तर्गत स्याङ्जा, म्याग्दी, तनहुँ र पर्वत जिल्ला सम्बन्धित आइसोलेसन कक्षमा उपचार गराइरहेका ४९ जना एकैपटक डिस्चार्ज भएका हुन्।

प्रदेशमा हालसम्म कुल संक्रमित ८ सय ९५ मध्ये निको हुनेको संख्या यो सहित १ सय ७० पुगेको स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिए। 

सबैभन्दा बढी स्याङ्जाका ४ महिला र २८ पुरुष गरी ३२ जना निको भएका हुन्। त्यस्तै, म्याग्दीका १ जना पुरुष, तनहुँ र पर्वतका क्रमशः ६ र ८ जना छन्। तनहुँ र पर्वतका कोरोना संक्रमितमध्ये आइतबार डिस्चार्ज हुनेमा १–१ जना महिला छन्। 

स्याङ्जाका ३४ जना संक्रमित निको भई शनिबारमात्र डिस्चार्ज भएका थिए। 

पछिल्लो १ महिना कोरोना संक्रमित संख्या ह्वात्तै बढे पनि निको हुनेको दर पनि क्रमशः वृद्धि हुँदै गएको पाइन्छ। 

प्रदेशमा आइतबार मात्र ७ जनामा कोरोना पुष्टि भएको छ। योसहित प्रदेशका ११ जिल्लामध्ये कुल संक्रमितकाे संख्या ८ सय ९५ पुगेको हो। 

आइतबार पोखराका ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ। उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा स्वाब टेष्ट गरिँदा पोजेटिभ रिपोर्ट आएको हो। 

यस्तै, प्रदेश क्षयरोग केन्द्र, पोखरामा भएको परीक्षणमा बागलुङ र म्याग्दीका २–२ जना र पर्वत र लमजुङका १–१ जना छन्। 

बागलुङ नगरपालिकाका वर्ष २१ र ६५ का पुरुष, म्याग्दीको बेनी नगरपालिकाका वर्ष ३० र ४० का महिला, पर्वत सदरमुकाम कुश्माका २२ वर्षीय पुरुष र लमजुङ सदरमुकाम वेशीशहर ठेगाना भइ आबुखैरेनीमा कार्यरत ३८ वर्षीय पुरुषमा कोरोना देखा परेको हो। 

प्रदेशमा १३ हजार ७ सय ८३ को नमुना संकलन भएकोमा २ सय ५९ को मात्र रिपोर्ट आउन बाँकी छ। कोरोना संक्रमितमध्ये २ जना पुरुषको निधन भएको छ।

salt training

कमेन्ट गर्नुहोस्