
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ओसामा बिन लादेनलाई सहिद भनेपछि आलोचनाको तारो बनेका छन् । केही दिन अघि पाकिस्तानको संसदमा बोल्दै प्रधानमन्त्री खानले लादेनलाई अमेरिकाले सहिद बनाएको अभिव्यक्ति दिएका थिए ।
उनले यस्तो अभिव्यक्ति दिएपछि उनका विपक्षी दलका नेताहरूले उनलाई आलोचनाको तारो बनाएका छन् ।
उनले प्रयोग गरेको शब्द इस्लाम धर्मावलम्बीहरूले आफ्नो पक्षमा प्रयोग गर्ने गर्छन् । उनलाई विपक्षी सांसदहरूले आतंककारीको कुनै धर्म नहुने भन्दै शब्द फिर्ता लिन माग गरेका छन् ।
'हामीले त्यतिबेला अमेरिकाको समर्थन गरेका थियौं तर उनीहरू आए र लादेनलाई सहिद बनाएर गए,' उनले संसदमा भनेका थिए ।
लादेनलाई २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा आतंकवादी हमलाका प्रमुख मानिन्छ । उनलाई अमेरिकी सेनाले पाकिस्तानकै भूमिमा गएर मारिदिएको थियो ।