२३ जेठ २०८३, शनिबार

उपनिवेश कालमा अफ्रिकीहरूमाथि गरेको अत्याचारका लागि बेल्जियमका राजाले मागे माफी

असार १६, २०७७
उपनिवेश कालमा अफ्रिकीहरूमाथि गरेको अत्याचारका लागि बेल्जियमका राजाले मागे माफी

बेल्जियमको इतिहासमा पहिलोपटक बहालवाला राजाले उपनिवेश कालमा देशले अफ्रिकामा गरेको हिंसाका विषयमा माफी मागेका छन् । मंगलवार राजा फिलिप्पेले पश्चात्ताप व्यक्त गरेका हुन् । 
 

कंगोका राष्ट्रपति फिलिक्स चिसेकेदीलाई एक पत्र लेखेर राजाले कंगोमाथि उपनिवेश कालमा बेल्जियमले गरेको हिंसा तथा क्रूरताका लागि गहिरो पश्चात्ताप व्यक्त गरेका हुन् । कंगो स्वतन्त्र भएको ६०औं वार्षिकोत्सवका अवसरमा उनले उक्त पत्र पठाएका हुन् । 

दुई देशबीचको सम्बन्धलाई थप मजबूत बनाउन तथा थप फलदायी मित्रता विकास गर्न हामीले साझा इतिहासका विषयमा सत्य तथा इमान्दार कुराकानी गर्नुपर्ने हुन्छ,’ फिलिप्पेले भने । 

बेल्जियमले उपनिवेशवादी विगतलाई पुनर्मूल्यांकन गर्नुपर्ने भन्दै माग उठिरहेको बेलामा फिलिप्पेको पत्र आएको हो । बेल्जियमका राजा लियोपोल्ड दोस्रोको शासनकालमा लाखौं अफ्रिकीहरूको हत्या गरिएको थियो । 

अहिले अमेरिकामा प्रहरीद्वारा मारिएका काला जातिका पुरुष जर्ज फ्लोयडलाई न्याय दिलाउन भइरहेका प्रदर्शनमा लियोपोल्डका कैयौं मूर्ति भत्काइएका छन् । बेल्जियमबाट ती राजाका सबै मूर्ति हटाउन निवेदन समेत परेको छ । 

salt training

कमेन्ट गर्नुहोस्