
आफ्नो सरकार ढाल्न दूतावास सक्रिय भएको र पार्टीका नेताहरु समेत सहभागीभएको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ सम्बन्धमा नेकपा नेताहरुले जवाफ माग गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको नेकपा स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीबाट हटाउन चलखेल भएको भन्ने आरोपको आधार के हो भनी प्रश्न गरेका हुन् ।
आइतवार बालुवाटारमा आयोजित एक कार्यक्रममा ओलीले नेपाली भूमि समेटिएको नक्सा जारी गरेलगत्तै आफूलाई प्रधानमन्त्रीबाट हटाउन दूतावासको चलखेल बढेको बताएका थिए ।
मंगलवारको बैठकमा प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनालले ओलीको सो भनाइ सम्बन्धमा प्रश्न गरेका हुन् । ‘प्रधानमन्त्रीलाई हटाउन विदेशी दूतावास र नेपालकै नेताले पनि चलखेल गरेको भन्ने आरोपको आधार के हो ? सरकार ढाल्ने कुरा ख्याल ठट्टाको विषय हो ?’ प्रचण्डको भनाइ उदृत गर्दै एक स्थायी कमिटी सदस्यले भने ।
चिया ब्रेकका लागि दिउसो २ बजे केहीबेरका लागि स्थगित नेकपा बैठक अहिले फेरि बसिरहेको छ । यसअघिका बैठकमा छोटो समय उपस्थित भएका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली मंगलवारको बैठकमा सहभागीछन् ।