
सरकार सञ्चालनमा असफल भएको भन्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीबाट राजीनामा गर्न अर्का अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।
आफूलाई हटाउन चलखेल बढिरहेको ओलीको आरोपबीच प्रचण्डले नेकपा स्थायी कमिटीको मंगलवारको बैठकमा ओलीको राजीनामा माग गरेका हुन् ।
‘भारतले होइन, मैले राजीनामा माग गरेको हुँ । वैशाख १७ गते नै मैले राजीनामा माग गरेको थिएँ, त्यो बेला नक्सा प्रकाशित भएको थिएन नि !’ प्रचण्डको भनाइ उदृत गर्दै ओली निकट नेकपाका एक नेताले भने ।
आफूलाई हटाउन दूतावासको सक्रियता बढेको र होटलहरूमा गतिविधि बढिरहेको भनेर ओलीले आइतवार दिएको अभिव्यक्ति सम्बन्धमा नेताहरूले मंगलवारको बैठकको शुरूमै स्पष्टीकरण माग गरेका थिए ।
प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले बोलेपछि ओलीले संक्षिप्त जवाफ फर्काएका थिए ।
प्रचण्डले प्रधानमन्त्रीबाट आएको यस्तो अभिव्यक्तिले परराष्ट्र सम्बन्ध खल्बलिने चिन्ता व्यक्त गरेका थिए । स्थायी कमिटीको बैठकमा विरलै उपस्थित भएका ओली मंगलवारको बैठकमा झण्डै साढे २ घण्टा बसेका थिए ।
असार १० गते शुरू भएको नेकपा स्थायी कमिटीको चौथो दिनको बैठकमा नेताहरू बोल्नेक्रम जारी छ ।