
कृषि बालीका लागि खतरनाक मानिने सलह कीराको फौज काठमाडौँमा पनि प्रवेश गरेको छ।
गत शनिबार रुपन्देही, सिन्धुली लगायतका जिल्लामा देखा परेको सलह मंगलबार सुन्धारा, बालाजु क्षेत्रमा देखा परेको हो।
नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य कृष्णमान श्रेष्ठले बालाजु क्षेत्रमा सलह देखा परेको बताए।
सलह भारत हुँदै नेपाल प्रवेश गरेको बताइन्छ। सलहको ठूलो समूह प्रवेश गरी बालीनाली नष्ट गर्न थालेको छ। सलहले खेती लगाउने मुख्य सिजनमै धानको बीउ, तरकारी र मकैबारी नष्ट गर्न थालेपछि किसान चिन्तित भएका छन् ।
सलह कीरा झुण्डमा आक्रमण गर्ने र एक ठाउँबाट अर्को ठाउँमा जाने गर्छ।
सलह कीरा नियन्त्रणका लागि परम्परागत विधिहरू खेतबारीमा धुवाउने, आगो बाल्ने, तत्काल उपलब्ध हुने विभिन्न माध्यमबाट ठूल्ठूला आवाजहरू निकाल्ने, लामा डोरीहरू खेतबारीको वारपार टाँगेर दुवैतिरबाट बालीनालीका बोटहरू हल्लाइदिने गरेर पनि भगाउन सकिन्छ।
सलहलाई छोपेर हाँस तथा चराहरूलाई खाने वातावरण तयार गर्ने, सलह किरा संकलन गरी पशुपन्छी तथा मत्स्य दानाको रुपमा प्रयोग गर्ने सकिन्छ।