
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसबाट प्रभावित क्षेत्रका लागि विशेष राहतका कार्यक्रम ल्याउन माग गरेको छ।
नेपाली कांग्रेस कोभिड-१९ अनुगमन समितिका संयोजक समेत रहेका कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वको प्रतिनिधि मण्डलले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र अर्थमन्त्री युवराज खतिवडासँग छलफल गरेर यस्तो माग गरेको हो।
अर्थमन्त्रीसँगको भेटमा कांग्रेसले भारतसहित विभिन्न देशबाट फर्किएका युवाको रोजगारीको व्यवस्था गर्न माग गरेको छ, भने लकडाउनबाट प्रभावित उद्योगधन्दा सूचारुका लागि उपयुक्त आर्थिक सहयोगको व्यवस्था गर्न माग गरेको छ।
यस्तै, कांग्रेसले साना मझौला र अनौपचारिक व्यवसायलाई विशेष सहयोगको प्याकेज ल्याउन, क्वारेन्टाइन तथा अन्य आवश्यक स्वास्थ्य उपकरण व्यवस्थापनको लागि स्थानीय तहलाई प्रयाप्त र समयमै बजेट उपलव्ध गराउन, गरीब र बेरोजगारलाई रोग र भोकबाट बचाउन विशेष राहतका कार्यक्रम ल्याउन, वैदेशिक रोजगारमा गएका युवाहरुलाई स्वदेश फर्कन लाग्ने हवाई भाडामा विशेष सहुलियत प्रदान गर्न पनि सुझाव दिएको छ।
स्वास्थ्य मन्त्रीसँगको छलफलमा कांग्रेसले क्वारेन्टाइनको उचित व्यवस्थापन, पीसीआर परिक्षणको दायरा बढाउन, विदेश र छिमेकी मुलुकबाट आउने नेपालीहरुलाई सुरक्षित र व्यवस्थित क्वारेन्टाइनको व्यवस्था गर्न माग गरेको थियो।
स्थानीय तहलाई समयमै प्रयाप्त रकम उपलव्ध गराउन, स्वास्थ्य उपकरणको खरिद र गुणस्तरको बारेमा पारदर्शिता अपनाउन, नन् कोभिड रोगको (दीर्घरोगी, प्रसुती सेवा, खोप, मानसिक समस्या जस्तै डिप्रेसन आदि) उपचारको बारेमा विशेष ध्यान दिन, आत्महत्या, बलात्कार, महिला हिंसा जस्ता सामाजिक समस्याको रोकथाम गर्न सुझाव दिएको छ।