
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर मशिन जडान गरी कोरोना भाइरस संक्रमण जाँच शुरू गरिएको छ ।
अस्पतालमा आएका ज्वरोका बिरामी र कोरोनाका ‘रिफर’ केसहरू जाँच गरिने अस्पताल विकास समितिले जनाएको छ ।
अस्पतालमा उपचारका लागि आउने बिरामीको कोभिड–१९ (कोरोना भाइरस) परीक्षणका लागि पीसीआर मशिन नहुँदा चिकित्सक र अस्पतालमा कार्यरत कर्मचारी जोखिममा थिए । पीसीआर मशिनको ५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरे ।
पीसीआर मशिन जडान भएसँगै प्रदेशमा कोरोनाको परीक्षण गति बढ्ने अपेक्षा गरिएको छ । १ करोड ५९ लाख रुपैयाँ बराबरको पीसीआर मशिन खरिदको लागि प्रदेश ५ सरकारले ६० लाख रुपैयाँ आर्थिक सहयोग गरेको अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले जानकारी दिए । बाँकी १ करोड रुपैयाँ अस्पताल विकास समितिको हो ।
अस्पतालमा दैनिक १ हजार बिरामी उपचारका लागि आउने गरेको अस्पतालको तथ्यांकमा उल्लेख छ । मशिन जडानपछि बिरामीको पीसीआर परीक्षण गर्न सकिने र उपचारको लागि पनि ढुक्क हुने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र खनालले बताए ।
अस्पतालमा जडान गरिएको मशिनबाट अस्पतालमा उपचारका लागि आउने बिरामीको परीक्षणलाई पहिलो प्राथमिकता दिइने छ । यसबाहेक प्रदेश प्रयोगशालामा परीक्षण हुन बाँकी रहेका स्वाब परीक्षण गरिने डा. खनालले बताए । प्रदेशका ३ प्रयोगशालाका ४ वटा मशिनबाट अहिले कोराना जाँच भइरहेको छ ।
भैरहवास्थित प्रादेशिक प्रयोगशाला, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र बाँकेको भेरी अस्पतालबाट अहिले कोरोना जाँच भइरहेको छ । अस्पतालको सुधारका लागि प्रयोगशालालाई अत्याधुनिक र स्तरीय बनाउन आवश्यक रहेकाले सोही कार्यमा लागेको अस्पतालका अध्यक्ष भट्टराईले बताए ।
पछिल्लो समय अस्पतालले मुहार फेर्दै गएको छ । अहिले छुट्टै संरचना बनाएर बहिरंग सेवा पनि सञ्चालन गरिएको छ ।