नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएपछि गहिरिएको राजनीतिक संकटसँगै देशविदेशमा विभिन्न अड्कलबाजी शुरू भएका छन् ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायतले ओलीको राजीनामा मागे पनि ओलीले राजीनामा नदिए आगामी रणनीति के हुन्छ भन्ने स्पष्ट छैन ।
तर भारतीय मिडिया आजतकले ओलीले राजीनामा नदिए पूर्व माओवादी खेमाका मन्त्रीले सामूहिक राजीनामा दिनसक्नेसमाचार प्रकाशित गरेको छ । यसअघि मंगलवारको स्थायी कमिटी बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले नेकपाभित्रको राजनीति र रणनीतिबारे भारतीय मिडियामा पहिल्यै खबर आउने गरेको भनेर आशंका व्यक्त गरेका थिए ।
आजतकले लेखेको छ, ‘प्रचण्डले ओलीको राजीनामा मागेका थिए, त्यसपछि राजनीतिक संकट गहिरिएको छ । अब खबर आएको छ कि ओलीले राजीनामा दिए माओवादी खेमाका केही मन्त्रीले सामूहिक राजीनामा दिनसक्छन् ।’ पार्टी स्थायी कमिटीमा ओलीसँग बहुमत नभएकाले संसदीय दलमा बहुमत पुर्याउने कोसिस भइरहेको समाचारमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिए अध्यक्ष पद बचाउन सक्ने समेत समाचारमा लेखिएको छ । नेपाल–भारत नक्सा विवाद शुरू भएपछि नेपालमा राजनीतिक संकट शुरू भएको भारतीय मिडियाको दाबी छ ।
राजीनामाको विषय चर्किएपछि प्रधानमन्त्री ओलीले आफू निकटका मन्त्रीसँग बुधवार बिहान बैठक गरेको र माओवादी मन्त्रीलाई केही ढिला बोलाइएको आजतकको समाचारमा उल्लेख छ । समाचार अनुसार बैठकमा आगामी रणनीतिबारे छलफल भएको छ ।