
नेकपा स्थायी कमिटीको पाँचौ दिनको बैठक शुरू भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुरू बुधवारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन् ।
विगतको बैठकमा कुनैदिन उपस्थित र कुनैदिन अनुपस्थित भएका ओली बुधवारको बैठकमा भने शुरूमै उपस्थित भएका हुन् ।
मंगलवारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले ओलीको राजीनामा माग गरेका थिए ।
आजको बैठकमा ओली समूहका नेताहरूले ओलीको बचाउमा कुरा राख्ने तयारी गरेका छन् ।
स्थायी कमिटी बैठकको तयारी स्वरूप प्रधानमन्त्री ओलीले बुधवार बिहान मन्त्रिपरिषद्मा रहेका स्थायी कमिटीका सदस्यहरूसँग परामर्श गरेका थिए ।
बैठकमा सहभागी स्थायी कमिटी सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कुनैपनि हालतमा पार्टी एकतालाई बचाउन तथा अन्तरविरोधको समाधानका लागि पहल गर्न सुझाव दिएको बताए ।
असार १० गते शुरू भएको नेकपा बैठकका लागि ७ वटा एजेण्डा तय गरिएको थियो । आइतवार बालुवाटारमा आयोजना गरिएको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन भारतीय संयन्त्र र पार्टीकै नेताहरू लागिपरेको अभिव्यक्ति दिएपछि मंगलवारदेखि नेकपाको बैठकको एजेण्डा परिवर्तन भएको थियो ।
ओलीको राजीनामा माग गरिएपछि नेकपाभित्रको विवाद सतहमा आएको छ ।